चितवन । चितवन र काठमाडौं भरतपुर मेयरकप बागमती प्रदेश अन्डर १६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आज भएको लिगको अन्तिम खेलमा चितवनले ललितपुरलाई र काठमाडौंले मकवानपुरलाई हराउदै फाइनलमा स्थान बनाएका हुन् । काठमाडौं समुह ‘ए’ र चितवन समुह ‘बी’ को विजेता बन्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । काठमाडौंले ५९ रनको फराकिलो जित दर्ता गर्दा चितवनले ५ रनको रोमाञ्चक जित हात पार्यो ।
आजको पहिलो खेलमा भरतपुरको निर्माणाधिन क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन बनायो । काठमाडौंका लागि ओपनर विशाल रायमाझीले सर्वाधिक ४८ रन जोडे । ४३ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । १७ औं ओभरको तेश्रो बलमा उनी अमन कुमार यादवद्वारा कट बिहाइन्ड आउट भए । यस्तै मध्यक्रममा सुबिना हाडाले ३६, विरेन्द्रसिंह साउदले ३४ र निश्चल श्रेष्ठले २५ रन बनाए ।
बलिङतर्फ मकवानपुरका अमन कुमार यादवले २ तथा रोहित ठाकुर, रौशन कुमार राय र रोशन कुमार यादवले समान १ विकेट हात पारे । १ सय ८३ रनको विशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ थालेको मकवानपुर २५ ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमा समेटियो । पहिलो विकेटको लागि ७० रनको साझेदारी गर्दै बलियो सुरुआत गरेको मकवानपुरका लागि मध्यक्रम सम्हालिन नसक्दा खेलको नतिजा काठमाडौंलाई सुम्पिन बाध्य भयो । १५ औं ओभरको पहिलो बलमा मकवानपुरका ओपनर गौरव श्रेष्ठ व्यक्तिगत ४५ रन बनाउदा आउट भए ।
अर्का ओपनर गोकुल अधिकारी २५ रन बनाउदै पेभिलियन फर्किए । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन खासै सम्झनलायक रहेन । बलिङमा काठमाडौंका निश्चल श्रेष्ठ र सार्थक धितालले समान २ विकेट लिए । सुबिन हाडा, प्रतिक पण्डित र पवन कठायतले समान १ विकेट निकाले । खेलको प्लेयर अफ द म्याच काठमाडौंका निश्चल श्रेष्ठ भए । आजकै अर्को खेलमा चितवनले ललितपुरविरुद्ध रोमाञ्चक ५ रनको जित निकाल्यो । १ सय ४८ रनको विजय लक्ष्य पछ्याएको ललितपुर निर्धारित २५ ओभरमा १ सय ४२ रनमा रोकियो ।
दशौं ओभरको अन्तिम बलमा ४० रन जोड्दा सुरुआती ३ विकेट विकेट गुमाएको अवस्थामा ललितपुर दबाबमा आएको थियो । त्यसपछि हिमाल बोहोराले अर्धशतक प्रहार गर्दै ललितपुरलाई खेलमा फर्काउने कोसिस गरेका थिए । ४९ बल खेलेका उनले ४ चौका र १ छक्काको मद्धतमा ५६ रन बनाए । १९ औं ओभरको चौथो बलमा उनी दिपेश क्षेत्रीको बलमा बोल्ड हुदै पेभेलियन फर्किए । बलिङमा चितवनका सुमित शर्मा र विशाल खत्रीले समान २ विकेट लिए । सुगम सापकोटा र दिपेश क्षेत्रीले समान १ विकेट निकाले ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले २५ ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ४७ रन बनायो । चितवनका कप्तान सुर्यान्शु कोइरालाले अर्धशतक बनाए । ५४ बल खेल्दै उनले ७ चौका र १ छक्कासहित ६३ रन जोडे । उनको जारी प्रतियोगितामा यो लगातार दोश्रो अर्धशतक हो । यस्तै विवस न्यौपानेले २० र ज्ञानु निउरेले १६ रन जोडे ।
बलिङमा ललितपुरका भार्गव खनाल एक्लैले ६ विकेट लिए । ५ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए । यस्तै निश्चल क्षेत्री, संगम सेढाइ र दिपेश शाहले समान १ विकेट हात पारे । ६ विकेट लिएका भार्गव खनाल खेलको प्लेयर अफ द म्याच चुनिए । प्रतियोगिताको उपाधि भिडन्त चितवन र काठमाडौंबीच भोलि (बिहीबार) बिहान ९ः३० बजे हुनेछ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुबाट नै बागमती प्रदेशको अन्डर १६ को टोली तयार गरिने लक्ष्य राखिएको छ । भरतपुर महानगरपालिका र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा प्रतियोगिता बैशाख ४ गतेदेखि संचालन भैरहेको छ ।








