चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भरतपुर आँखा अस्पताललाई सक्दो सहयोग गर्ने बताउनु भएको छ । आज अस्पतालको अनुगमनपछि आयोजित कार्यक्रममा मन्त्री जोशीले स्वयंसेवि रुपमा सञ्चालन हुँदै आएको अस्पताललाई राज्यको तर्फबाट पनि सक्दो सहयोग हुनुपर्ने बताउनु भएको हो ।
उहाँले नेत्रज्योति संघले स्वयंसेवि रुपमा अस्पताल सञ्चालन गरेर राज्यलाई महत्वपूर्ण सहयोग गरेको बताउँदै उहाँले प्रदेश सरकारको तर्फबाट अस्पताललाई सक्दो सहयोग हुने बताउनुभयो । आँखा उपचारका क्षेत्रमा यस अस्पतालले पु¥याएको योगदानको चर्चा गर्दै मन्त्री जोशीले अस्पताललाई अझै राम्रो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाल नेत्रज्योति संघका पूर्व सभापति चिजकुमार मास्के, संघका सभापति जयराम श्रेष्ठ र अस्पताल प्रशासक दयाशंकर चौधरीले अस्पतालका बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा मन्त्री जोशीले अस्पतालको नवनिर्मित भवन लगायत सेवा सुविधाका बारेमा निरीक्षण गर्नुभएको थियो ।








