पाँचथर । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले अपराधका घटनाहरुमा प्रहरी र सरकारी वकिलबाट हुने अनुसन्धान र अभियोजनलाई विश्वसनीय र प्रभावकारी बनाउनु जरुरी रहेको बताउनुभएको छ । अनुसन्धान र अभियोजन विश्वासनीय र प्रभावकारी हुन सकेमात्रै पीडकले सजाय र पीडितले न्याय पाउन सक्ने भन्दै उहाँले त्यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रयास गरिरहेको बताउनुभयो । “समाजमा न्याय भनेको अदालतको फैसला हो भन्ने बुझाइ छ ।
न्याय भनेको त्यो प्रक्रियामा रहेका हरेक मानिस न्यायाधीश हुन्”, महान्यायाधिवक्ता डा पोखरेलले भन्नुभयो, “पहिलो न्यायाधीश प्रहरी हो, दोस्रो सरकारी वकिल हो । दुवैले न्याय नदिए जिल्ला अदालतले न्याय दिने ठाउँ रहँदैन । अन्यायको शृङ्खला मात्रै पुष्टि हुन्छ ।” जिल्ला सरकारी वकिल कार्यालय पाँचथरको नवनिर्मित भवनको आज फिदिममा उद्घाटन गर्दै उहाँले विगतदेखिको प्रक्रियाका रुपमा अनुसन्धान र अभियोजनलाई विश्वासनीय र प्रभावकारी बनाउने अभियान चलिरहेको बताउनुभयो ।
“यसका लागि सातै प्रदेशमा सरकारी वकिल, वकिलहरु, अनुसन्धान अधिकारी र न्यायाधीशबीच छलफल गराई प्रभावकारिताका प्रयास थालिएका छन्”, महान्यायाधिवक्ता डा पोखरेलले भन्नुभयो, “समग्र न्याय सम्पादनलाई प्रभावकारी बनाउनले प्रयासस्वरुप यी काम गरिएका हुन् ।” अपराध स्वीकार गर्ने अभियुक्तलाई ५० प्रतिशत सजाय छुट दिने कानुनी व्यवस्थाको कार्यान्वयनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । “कारागारको अवस्था दयनीय छ । अमानवीय हिसाबले मानिस राख्नुभन्दा कानुनले नै छुट दिनसक्ने व्यवस्थाको कार्यान्वयनका लागि निर्देशिका नेपाल सरकारलाई सिफारिस गरिएको छ”, उहाँले भन्नुभयो, “यसले अपराधीलाई अपराध स्वीकार गर्न प्रेरित गर्छ ।
यसले दोषी किटान गर्न र अनुसन्धान निष्कर्षमा पु¥याउन सकिन्छ ।” जिल्ला सरकारी वकिल ऋद्धिनाथ निरौलाका अनुसार भ्याटबाहेक रु दुई करोड ७२ लाख चार हजारको लागतमा नयाँ भवन निर्माणको ठेक्का भएको थियो । निर्माण सम्पन्न हुँदा ६ प्रतिशतले लागतको मूल्याङ्कन घट्न गई रु दुई करोड ५३ लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । २०७७ साल भदौ ५ गते भएको ठेक्का सम्झौताअनुसार दुई पटक म्याद थप गरी नयाँ भवन निर्माण सम्पन्न भएको हो । तीनतले नयाँ भवनमा २० वटा कोठाहरु रहेका छन् ।
पुरानो भवन रहेको स्थानमा सो भवन भत्काई नयाँ भवन निर्माण भएको हो । भवनमा एसी, सिसी क्यामेरा तथा केही फर्निचरसमेत निर्माण कम्पनीले व्यवस्था गरिदिएको छ । यद्यपि कम्पाउन्ड पर्खाल पूर्ण हुन बाँकी रहेको जिल्ला न्यायाधिवक्ता निरौलाले जानकारी दिनुभयो । उक्त भवन उद्घाटन कार्यक्रममा नायब महान्यायाधिवक्ता डा टङ्कबहादुर घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बे, जिल्ला न्यायाधीश टीकेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भवन निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी जोशी सञ्जीव जेभी फिदिमका प्रबन्धक वीरेन्द्र श्रेष्ठलाई कदर पत्रले सम्मान गरिएको थियो ।








