पोखरा । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३ सय २१ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीका १५ जना र गैंडाकोटका ११ जना छन् । तनहुँका सुक्लागण्डकीका २ जना र पोखरा महानगरपालिका २ जना रहेका छन् । संक्रमितमध्ये कावासोती-२ का ३९ र २० बर्षीय, कावासोती-३ का ४१ बर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका रहेका छन् । अन्य सबैको कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।









