चितवन । भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा डा. दीपेन्द्र न्यौपाने निर्वाचित हुनु भएको छ । युनियनको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभा एवं नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा केही पद सर्वसम्मत भएको थियो भने केही पदमा निर्वाचन भएको हो ।
अध्यक्षमा डा.न्यौपाने ११४ मतका साथ विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी शिवप्रसाद बसेलले ३८ मत प्राप्त गर्नुभयो । बरिष्ठ उपाध्यक्षमा इरिना प्रधान निर्विरोध निर्वाचित हुनुभयो भने उपाध्यक्षमा प्रभात पौडेललाई पराजित गर्दै शारदा खनाल विजयी हुनुभयो । सचिवमा सुदीप पाण्डेले उत्तम पौडेल र तुलसी थापालाई पछाडि पार्दै विजयी हुनुभयो । कोषाध्यक्ष प्रभा गुरुङले आशिष पौडेललाई पछाडि पार्दै विजयी हुनुभयो । सहकोषाध्यक्षमा संगीता कुँवर अधिकारी चयन हुनु भएको छ ।
समितिको सदस्यहरुमा रोशन बस्नेत, सजिना श्रेष्ठ, उषा खनाल देवकोटा, ज्ञानबहादुर भण्डारी र मञ्जु डाँगी निर्विरोध निर्वाचित हुनुभयो ।
अधिवेशनको अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “बिरामीलाईइ सुविधा होस् भन्नेमा हामी तत्पर छौं ।”
अस्पतालका प्रमुख मेसु प्रा.डा.कृष्णप्रसाद पौडेलले आफू कर्मचारी व्यवस्थापनमा निरन्तर लागेको चर्चा गर्दै बिरामीले सेवा पाउने विषयमा आफू कहिल्यै पछाडि नपरेको बताउनुभयो । उहाँले अन्य सरकारी अस्पतालको तुलनामा भरतपुर अस्पताल सरसफाई र सेवाका हिसाबले अघि रहेको बताउनुभयो ।
कृष्णप्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा अस्पतालका प्रमुख मेसु प्रा.डा.कृष्णप्रसाद पौडेल, नर्सिङ निरीक्षक डा. रिना श्रेष्ठ, प्रवक्ता डा.गोविन्द कँडेल, लेखा अधिकृत प्रमोद पोखरेल, म्यानेजर डा.विज्ञान पौडेलले बोल्नु भएको थियो । यसैगरी शाखा अधिकृत भगीरथ रेग्मी, पूर्व अध्यक्षहरु हिरामान महर्जन, इश्वरी खनाल, लक्ष्मी सुवेदी, चन्द्रमणि बस्याल, नर्सिङ कोअर्डिनेटर मिना भुषाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।








