चितवन । भरतपुर अस्पतालले आगामी भदौदेखि निःशुल्क पार्किङको व्यवस्था गर्ने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना प्रकाशित गरी भदौदेखि निःशुल्क पार्किङ्को व्यवस्था गरिने उल्लेख गरेको हो ।
जारी सूचनामा भनिएको छ “अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीका सवारी साधनको सुरक्षा एवं व्यवस्थापनको लागि हालसम्म न्यूनतम पार्किङ शुल्क लिने गरिएकोमा भदौ महिनादेखि निःशुल्क गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।” भरतपुर अस्पतालमा हाल पार्किङका लागि शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ ।
यसैबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले केही दिन अघि चितवनका ठूला चार अस्पतालका जिम्मेवार व्यक्तिलाई फोन गरी पार्किङ निःशुल्क गर्न निर्देशन दिनुभएको थियो । उहाँले पार्किङ निःशुल्क गरी सवारीको सुरक्षाको प्रबन्ध गर्न निर्देशन गर्नुभएको हो ।
साउन २ गतेको मन्त्रीस्तरीय निर्णयबाट बागमती प्रदेशका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई पार्किङ निःशुल्क रुपमा सञ्चालन गर्ने निर्णय समेत भएको छ ।









