काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। अस्पतालले सञ्चालन गरेको कोभिड अस्थायी विशेष अस्तपाल धागो कारखानामा उपचारका क्रममा बिहीवार बिहान दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा कपिलवस्तु बुद्धभूमि नगरपालिकाका १ जना र नवलपरासी पश्चिम रामग्रामका एक जना रहेका छन्। कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. ०६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो। असोज १ गते कोभिड-१९ संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना भएका उनमा ज्योरो मधुमेह, स्वासप्रश्वासमा समस्या भएपछि सघन उपचार कक्षमा उपचार भइरहेको थियो। त्यस्तै नवलपरासी पश्चिम रामग्राम नगरपालिका वडा नं. ०३ का ४९ वर्षीय पुरुषको बिहीवार बिहान ४ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। भदौ २७ गते कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालमा भर्ना गरिएको थियो। ज्वरो, दिर्घ रोगी कलेजोमा समस्या र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। योसँगै लुम्बिनी प्रादेशिक अस्पताल तथा अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या २१ पुगेको छ।








