एजेन्सी । लुइस स्वारेजले एट्लेटिको म्याड्रिडबाट डेब्यू खेलमै दुई गोल र गोलका लागि एक पास उपलब्ध गराएका छन् । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा एट्लेटिकोले ग्रानडालाई ६-१ गोलले पराजित गरेको थियो । दुई दिनअघि मात्र बार्सिलोनाबाट एट्लेटिको म्याड्रिडसँग सम्झौता पूरा गरेका सुआरेज खेलको ७० मिनेटमा डिएगो कोस्टाको स्थानमा मैदान प्रवेश गरेका थिए। मैदान छिरेको दोस्रो मिनेट (खेलको ७२ औँ मिनेट)मा उनले मार्कोस लोरेन्टेलाई गोलका लागि पास उपलब्ध गराए। त्यसपछि सुआरेजले खेलको ८५ मिनेट र इन्जुरी समयमा गोल गरेका थिए । त्यसअघि एट्लेटिकोका लागि डिएगो कोस्टाले नवौं मिनेटमा पहिलो गोल गरेका थिए। कोरिआले ४७ मिनेटमा अग्रता दोब्बर पार्दा जोआओ फेलिक्सले ६५ मिनेटमा अर्को गोल गरे।








