काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र नेतृ प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार उत्तर प्रदेशको हाथरथ जिल्लामा सामूहिक बलात्कारपछि ज्यान गुमाएकी युवतीको परिवारसँग भेट गर्न जान लागेका उनीहरुलाई प्रहरीले निर्देशन अवज्ञा गरेको आरोपमा यमुना एक्सप्रेसवेमा रोकेको हो । राहुलको टोलीलाई रोकिएको ठाउँबाट हाथरथसम्मको दूरी १४२ किलोमिटर रहेको छ । भिड भएको भन्दै प्रहरीले उनका गाडीलाई रोकेपछि उनीहरु हिँडेरै भए पनि हाथरस जान लागेका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । हाथरथमा सेप्टेम्बर १४ मा १९ वर्षीया एक दलित परिवारकी किशोरीमाथि सामुहिक बलात्कार भएको थियो । उनको मंगलबार दिउँसो दिल्लीको सफदरगंज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।








