चितवन । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा काम गर्न अवसर र चुनौती रहेको बताउनु भएको छ । पश्चिम चितवनको चनौलीमा उपेन्द्र देवकोटा फाउन्डेसनले आयोजना गरेको २ दिने नि: शुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा अवसर र चुनौती रहेको बताउनु भएको हो ।
उहाँले धेरै पैसा भएको व्यक्तिले मात्रै उपचार पाउने र पैसा नहुने दिन दुखी गरिबले उपचार नपाउने भन्ने गुनासो नागरिक रहेको र यसलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने हिसाबले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालय लागेको बताउनु भयो । सरकारी अस्पतालले मात्रै नभई निजी अस्पतालले पनि स्वास्थ्य क्षेत्रमा ठुलो हिस्सा ओगटेको मन्त्री जोशीले बताउनु भयो ।
निजी क्षेत्रमा अस्पताललाई सरकारले दिएको छुट अनुसार निजी अस्पतालले दिनुपर्ने सेवा सुविधाहरू आम नागरिकलाई दिए सहज र सरल ढङ्गबाट सबै नागरिकले उपचार पाउने बताउनु भयो । उपेन्द्र देवकोटाको स्मृतिमा स्थापित ‘उपेन्द्र देवकोटा फाउन्डेसन’ले पश्चिम चितवनको चनौलीमा उपेन्द्र देवकोटा मेमोरीयल न्युरो हस्पिटल बासवारिको सहकार्यमा र नेपाल रेडक्रस चनौली उपशाखाको समन्वयमा सामान्य चिकित्सा, शल्य चिकित्सा, न्युरो सर्जरी, न्युरोलोजी, आँखा रोग, दन्त चिकित्सा, चर्म रोग, स्त्री तथा प्रसूति रोग नाक,कान, घाटी सम्बन्धी विज्ञ डाक्टरहरूबाट परीक्षण गरिएको छ ।
शिविरमा प्रा.डा.मधुदिक्षित देवकोटा, डा.सागर कोइराला, डा.प्रिया भुसाल, डा.शिवानी राई, डा.घनश्याम खरेल, डा.दीपेन्द्र थापा, डा.नारायण कोइराला, डा.किशोर खडका, डा.नवराज अधिकारी र डा.अविनाश खकुरेलले स्वास्थ्य परीक्षण गर्ने नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओम प्रसाद लामिछानेले जानकारी दिनुभयो । आजबाट सञ्चालन भएको स्वास्थ्य शिविर भोली सम्म चल्नेछ ।








