एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो । दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनरद्वय फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे । प्लेसिस ५३ बलमा ११ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे । वाट्सनले ५३ बलमा ११ चौका र ३ छक्कासहित अविजित ८३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । पन्जाबको लागि केएल राहुलले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । निकोलस पुरन ३३ रन जोड्दा आउट भए । यस्तै मन्दिप सिंहले २७ तथा मायांक अग्रवालले २६ रन बनाए । चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए । रविन्द्र जडेजा र पियुस चावालाले एक(एक विकेट लिए । जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ ।








