चितवन । चितवनको भरतपुरमा आगामी शनिबार र आइतबार तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगितामा सात वटै प्रदेश र विभागीय टिमबाट गरी करिब छ सय खेलाडी सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगिता संयोजक रमेश कार्कीले नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी सहभागी हुन नपाउने बताउनुभयो । चितवनको भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई भव्य रुपमा मनाउने घोषणा गरेको बेला प्रतियोगिताले भरतपुर भ्रमण वर्षको प्रचार प्रसार गर्ने र खेलाडीलाई भरतपुरमा निम्तो दिन सहयोग पुग्ने कार्कीले बताउनुभयो ।
रमेश कार्की, संयोजक, एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता विभिन्न विधामा गरी ३६ वटा स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा फाइटतर्फ पहिलो हुने समूहले एक लाख रुपैयाँ, दोस्रो हुने समूहले ५० हजार रुपैयाँ, तेस्रो हुने समूहले २५ हजार रुपैयाँ तथा पुम्सेतर्फ पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुने पाँच हजार रुपैयाँ पुरस्कार पाउने कार्कीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी र उत्कृष्ट महिला खेलाडीले रु १०–१० हजार पुरस्कार पाउनेछन् । पुम्सेमा ब्ल्याक बेल्ड प्राप्त खेलाडीको समूहमात्रै सहभागी हुन पाउने उहाँले बताउनुभयो ।








