चितवन । भरतपुर महानगरपालिका भित्र १३ वटा भन्दा धेरै पर्यटकिय गन्तव्य रहेका छन् । त्यस मध्यको मेघौली पनि एक हो । भरतपुरको चौविस कोठिबाट करिब २५ किलोमिटरको दुरीमा रहेको सुन्दर पर्यटकिय नगरी हो, मेघौली । साविक मेघौली गा.वि.स अहिले भरतपुर महानगरपालिकाको २७ र २८ नं. वडामा पर्दछ । राप्ती र नारायणी नदीको बीचमा रहेको मेघौली चितवन राष्ट्रिय निकृञ्जसंग जोडीएको छ । जसले गर्दा वर्षेनी धेरै पर्यटकहरु प्राकृतिक सौन्द्धर्य अबलोकन गर्न यहाँ आउने गर्दछन । तर, देशमा कोरोना महामारी संगै लकडाउन र निषेधाज्ञाले गर्दा अन्य पर्यटकिय क्षेत्रहरुमा झै यहाँको पर्यटन क्षेत्रलाई पनि नराम्रो संग झड्का लाग्यो ।
पर्यटन वर्ष २०२० को तयारी गरिरहेको समयमा कोरोनाको कारण ६ महिना बन्द गर्नुपर्दा पर्यटन व्यवसायीहरुले ठुलो नोकशानी भोग्नु परेको छ । तर, अहिले बन्द खुलेसंगै मेघौलिमा आन्तरिक पर्यटकहरु आउन थालेका छन् । अन्तराष्ट्रि पर्यटक आउने अवस्था नरहे पनि देशभित्रका पर्यटकहरु मेघौली आउन थालेपछि चहलपहल बढ्न थालेको छ । अझै पनि कोरोनाको कहर सकिनसकेकोले कोभिड १९ को विषयमा मेघौली पर्यटन विकास बोर्ड सजक रहेको अध्यक्ष हरिसचन्द्र महत्तोले बताउनुभएको छ । कोरोना संक्रमण फैलिन नदिन त्यहाँ रहेको होटल, लजहरुको अनुगमन पनि गरिरहेको उहाँको भनाई रहेको छ ।
कुनै समय पर्यटकको चापका कारणले सञ्चालनमा आएको मेघौली विमान स्थल अहिले घासेमैदानमा परिणत भएको छ । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको टाइगर टप जंगल लज विस्तापित भएपछि यसले मेघौलीको विकासमा सकरात्मक र नकरात्मक दुवै खाले असर पारेको छ । हाल सुविधा सम्पनन होटल, लजहरुका अलावा यहाँ व्यवस्थीत होमस्टे पनि सञ्चालनमा आएको छ । कोभिडले थला पारेको यहाँको पर्यटकिय गतिविधि पहिलेकै अवस्थामा आउन धेरै समय लाग्ने सिजिका सुपरभाइजर व्रृजा महत्तोले बताउनुभएको छ । बाह्य पर्यटक आउन थालेपछि बल्ल पर्यटन क्षेत्रको स्थिति उकासिने उहाँ बताउनु हुन्छ ।
निकुञ्ज नजिकै भएका कारणले विभिन्न प्रजातिका वन्यजन्तु एक सिङे गैंडा, पाटे बाघ यहाँको पर्यटकको लागि मुख्य आकर्षण बनेको छ । राप्तीर नारायणीको दोभान पनि मेघौलीको गोलाघाटमा रहेकाले सुर्य अस्तमा देखिने मनमोहक दृष्यले पर्यटकलाई तानिरहेको छ । साथै सौराहको भन्दा यहाँ केहि फरक अनुभव पर्यटकले लिन सक्ने यहाँका पर्यटन व्यवसायीको विश्वास रहेको छ । यहाँ थारु, कुमाल, गुरुङ्ग, मगर, तामाङ्ग लगायत जातजातिका नृत्यले पनि पर्यटकको ध्यानाकर्षण गरेको छ ।








