काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ६३८ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ८० हजार ९५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १७४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६८.६ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा ३६ हजार ३६७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको संख्या १४ हजार ८१९ छ भने होम आइशोलेसनमा २१ हजार ५४८ जना छन् । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । क्वारेन्टिनमा रहेको संख्या ४ हजार ६६६ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।








