• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

लोकजीवनका भाका सुसेल्ने वसन्त

  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत ! गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत ! गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिप्नुहुन्छ र गीतमा प्राण भर्नुहुन्छ । चाहे त्यो पञ्चेबाजामा होस् या ठाडो भाकामा । उहाँको सङ्गीत–साधनाको जमिन भनेकै समाजका रीतिथिती, संस्कृति र भोगाइहरु हुन् । थापाले भन्नुभयो, “मौलिकता हराएको, संस्कृति लोप हुने किसिमका गीत मैले गाउनु नपरोस् । अहिलेसम्म आफैँले तय गरेको सङ्गीतसाधनाको घेराभित्र छु ।

    खोजी र अनुसन्धानका पक्षबाट हेर्दा लोकसङ्गीतमा अझ धेरै काम गर्न बाँकी छ ।” सङ्गीतकर्ममा दुई दशक बिताउनुभएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रुपमा परिचित हुनुहुन्छ । अहिले ४० वर्षका उहाँ नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रुपमा दरिनुभएको छ । भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय हुनुहुन्छ । ठेट लय र शब्दमा जब उहाँको मादक स्वर मिसिन्छ तब त्यो लोकको सृजना बनिदिन्छ । उहाँमा बेग्लै स्वर र लठ्याउने गायकी रहेको धैरैले भन्ने गरेका छन् ।

    मौलिक गायनमा थापाको प्रभावशाली उपस्थितिले उहाँको सङ्गीतप्रतिको रुचि र कलालाई पुष्टि गर्दछ । उहाँले हरेकजसो गीतमा आफ्नै गाउँबस्ती, चालचलन र परिवेशलाई उजागर गर्नुभएको छ । कतिपयले यसलाई सृजनात्मक दायरा खुम्चाएको रुपमा पनि अथ्र्याउने गर्छन् । सङ्गीत–साधनामा लिप्त हुँदा उहाँ उही धर्ती, आँगन र पाखापखेरुमा पुग्नुहुन्छ । जहाँ उहाँ जन्मनुभयो, हुर्कनुभयो र गीत गुन्गुनाउन सिक्नुभयो । विगततिर नफर्केको भए, गाउँको माया मारेको भए थापाले कहाँ जन्माउन सक्नुहुन्थ्यो होला र ! ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’ या अरू यस्तैयस्तै ।

    देशभित्र मात्र नभएर विदेशका झकिझकाउ मञ्चमा पनि उहाँ नेपाली परिवेश र गाउँबस्तीका भाकामा गुञ्जिनुहुन्छ । गीतसङ्गीतमार्फत आफ्नो जन्मभूमिलाई देशविदेशमा चिनाउने उहाँको उद्देश्य छ । “लोकसङ्गीत फेरि एकपटक जुर्मुराएको छ, नयाँ पुस्ताको प्रवेश लोभलाग्दो छ”, थापाले भन्नुभयो, “हामी आफ्नै मौलिकपनमा नफर्की सुखै छैन, लोप हुन लागेका हाम्रा संस्कृति, भाका, परिवेशअनुसार लय जोगाउनुपर्छ । लोकगीतका क्षेत्रमा खोज, अनुसन्धान गर्न राज्य तहबाट पनि अग्रसरता लिनु जरुरी छ ।”

    उहाँले गीतमा प्रयुक्त भाषा नबुझेपनि नेपाली लोकधुन सुनेर विदेशीहरुसमेत रमाउने गरेको बताउनुभयो । संसारभर छरिएका नेपालीले पनि लोक शैलीका गीतलाई बढी रुचाउने गरेको थापाको भनाइ छ । बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका थापाले विसं २०५९ मा ‘नीलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा थाल्नुभएको थियो । ‘निलो फेवाताल’देखि ‘सालको पातको टपरी’ हुँदै ‘अरे भैया’सम्म आइपुग्दा थापाले नेपाली लोकसङ्गीतमा आफूलाई दह्रो गरी उभ्याउन सफल हुनुभएको छ ।

    उहाँको सङ्गीत, नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध लोकदोहारी गीत ‘सालको पातको टपरी’ले इतिहास रच्न सफल भएको थियो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको÷सुनिएको गीतमा पर्दछ । अहिलेसम्म उक्त गीतले नौ करोड बढी ‘भ्युज’ बटुलिसकेको छ । चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिनुभएको छ । कतिमा शब्द रच्नुभएको छ भने कुनै आफैँले गाउनुभएको छ । चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली…’ गीतमा पनि उहाँको स्वर र सङ्गीत छ । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको सहर हो प्रिया…’ मा उहाँकै सङ्गीत छ ।

    गीतकार राम थापाको शब्द रहेको उक्त गजल गीतबाट नै अहिलेका चर्चित गायक राज सिग्देलको साङ्गीतिक यात्रा सुरु भएको थियो । “गीत गाउने रहरले काठमाडौँ छिरेको २१ वर्ष बितिसक्यो”, थापाले विगत सम्झँदै भन्नुभयो, “म अहिले जहाँ छु, आफ्नै सृजना र श्रोता÷दर्शकका कारणले छु । म लोकसङ्गीतमै आफूलाई समर्पित गर्न चाहन्छु । मौलिक लयको खोजी र सङ्कलनमा अझ व्यवस्थित ढङ्गले लाग्नुछ, यसमा साङ्गीतिक समूह नै बनाएर काम गर्ने योजनामा छौँ ।” लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा उहाँ पर्नुहुन्छ ।

    अथक मेहनत र साधनाको भट्टीमा खारिँदै थापाले लोकसङ्गीतमा उपल्लो स्थान बनाउनुभएको हो । “सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पु¥यायो”, उहाँले भन्नुभयो, “नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ । हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।” रुचि सबैखाले गीतसङ्गीतमा भए पनि उहाँ आफ्नो सृजनाकर्मको केन्द्र लोकसङ्गीतलाई नै मान्नुहुन्छ । व्यावसायिक सफलता हात पार्न लोकसङ्गीतको महत्वपूर्ण भूमिका रहेको थापाको भनाइ छ ।

    मौलिकता, सृजनात्मकता, प्रस्तुतिमा नयाँपन र साधना सफलताको मन्त्र रहेको उहाँले बताउनुभयो । “सृजनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ”, थापाले भन्नुभयो । समाजमा सुषुप्त अवस्थामा रहेका मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उहाँ पोख्त हुनुहुन्छ । “लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ । नयाँनयाँ प्रयोग पनि भइरहेका छन्”, उहाँले भन्नुभयो, “पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो ।

    अहिले त्यो छैन, गायक तथा निर्माताहरु स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।” थापाले गीतमा सङ्गीत भरेबापत प्रशस्त पारिश्रमिक पाउने गरेको बताउनुभयो । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उहाँको भनाइ छ । गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्नुहुन्छ । उहाँ गीत रचनामा पनि सिद्धहस्त हुनुहुन्छ । लोकप्रिय पञ्चेबाजा गीत ‘वारि घुम्टे पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरमखोलाको’ र ‘आलु मीठो ताराखोलाको’ उहाँले आफैँ लेख्नुभयो, सङ्गीत भर्नुभयो र गाउनुभयो ।

    उहाँलाई गीतमा विष्णु माझीदेखि देवी घर्तीसम्मका चर्चित गायिकाले साथ दिनुभएको छ । नवराज पन्त, प्रल्हाद सुवेदीलगायत नाम चलेका गीतकारसँग थापाले सहकार्य गर्नुभएको छ । पञ्चेबाजामा ‘वारि घुम्टे पारि गाजा’बाट चर्चा पाउनुभएका उहाँले त्यसपछि थुप्रै पञ्चेबाजाका गीत लोकसङ्गीतलाई दिनुभएको छ । पञ्चेबाजालाई मूलधारको सङ्गीतमा समाहित गर्नेमा गायक थापाको पनि नाम लिने गरिन्छ । पञ्चेबाजा गीत सृजना गर्दा उहाँ आफ्नै भूगोलतिर फर्कनुभएको छ । हरेक गीतमा बागलुङ त्यसमा पनि गलकोटको पञ्चेबाजाको धुन झङ्कृत भइरहेको पाइन्छ ।

    सृजनाका माध्यमबाट गाउँ, भूगोल र परिवेश चिनाउने श्रेय उहाँलाई दिइन्छ । उहाँले संसारको जुनसुकै ठाउँमा गएर ‘बागलुङ बजार बाघको सालिक’ गीत गाउँदा मानिसले बागलुङलाई सम्झन्छन् । ‘वारि घुम्टे पारि गाजा’ गाउँदा गलकोटको झझल्को सँगाल्छन् । ‘माछा मीठो असला दरमखोला’ र ‘आलु मीठो ताराखोलाको’ गाउँदा बागलुङको स्थानीय उत्पादनको चिनारी गीतका मार्फत फैलिइरहेको हुन्छ । गीतको सजीवताका लागि थापा तत् ठाउँमै पुगेर ‘म्युजिक भिडियो’ छायाङ्कन गर्नुहुन्छ ।

    यसबाट स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा टेवा पुगिरहेको छ । विसं २०६६ मा सार्वजनिक ‘नजाउ है सानु पँधेरीमा’ गीतले थापालाई एकाएक चर्चामा ल्यायो । त्यसयता थापालाई कहिल्यै पछाडि फर्कनुपरेको छैन । उक्त गीतपछि नेपाली लोकदोहोरीको सङ्गीतले नयाँ ‘मोड’ लिएको उहाँको विश्वास छ । श्रोता÷दर्शकको अपार मायासँगै उक्त गीतले राष्ट्रिय ‘अवार्ड’समेत पाएको थियो । विसं २०६८ मा थापाले सङ्गीत दिनुभएका ‘डाँडै फुर्के सल्लो’, ‘रुमाल हल्लाइहल्लाइ’ लगायत लोकदोहोरी पनि अत्यधिक सफल भएका थिए ।

    मौलिक सृजनामा अब्बल थापाले अहिलेसम्म सातसय बढी गीतमा सङ्गीत र दुई सय बढीमा स्वर दिनुभएको छ । ‘डाँडै बिसौनी’, ‘किन माया मसँग तरकतरक छ’ गीतले गायकका रुपमा थापालाई चिनाए भने मौलिक लयमा सृजित ‘बामरी’ गीतबाट पनि उहाँले प्रशंसा बटुल्नुभयो । थापा र विष्णु माझीले गाएको ‘बोकेझार’ गीतबाट थापाले थप सफलताको सिँढी चढ्नुभयो । उहाँले गाएका र सङ्गीत दिएका ‘आइपुग्यो बागलुङ बजार’, ‘म जन्मेको ठाउँ’, ‘जाम सुस्तै’, ‘चौतारीको वर’, ‘आज सँगै’, ‘सयको गुन तिरौँला’, ‘म त गाउँले ठिटो’, ‘माया हाँसेको’, ‘शुभ विवाह लेखेको’लगायत गीत चर्चित छन् । “पहिले गाउँघरका भाखा टिपेर ल्याउने र गीत रकेर्ड गर्ने चलन थियो, जसलाई लय सङ्कलन भन्ने गरिन्थ्यो ।

    अहिले हामीले लय सङ्कलन होइन सृजना गरिरहेका छौँ, त्यसैले हामी सर्जक हौँ”, थापाले भन्नुभयो । सङ्गीत व्यवसायसँग पनि जोडिएका थापाको अभ्यास डिजिटल प्रालि नामक सङ्गीत कम्पनी छ । कम्पनीबाट प्रवद्र्धित गीत उहाँकै नामको युट्युब च्यानलबाट सार्वजनिक हुने गरेका छन् । थापासँग अन्तरराष्ट्रिय कलाकार मञ्च, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, बागलुङ कलाकार समाज, नेपाल सङ्गीत उद्योग सङ्घलगायत सङ्घसंस्थामा काम गरेको अनुभव छ ।

    मुख्य विधा लोकसङ्गीत रहे पनि थापाले सुगम, गजल, चलचित्र, लोकपप शैलीका गीतमा पनि स्वर र सङ्गीत दिनुभएको छ । साङ्गीतिक यात्राका क्रममा बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, कतार, दुबई, भारतलगायत देशमा पुगिसकेको थापाले सुनाउनुभयो । उहाँ इमेज, बिन्ध्यवासिनी, अन्नुपूर्ण म्युजिक अवार्ड, उत्कृष्ट लय सर्जक सम्मानलगायत दर्जनौँ अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.