नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा आज सुगमसंगीतका ख्यातीप्राप्त गायक शिव परियारले सांगीतिक प्रस्तुति दिँदैछन्। नारायणी नदी किनारमा जारी महोत्सवको दसौँ दिनमा गायक परियारको विशेष प्रस्तुति रहने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए।
साथमा स्थानीय कलाकार, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूको प्रस्तुति रहने छ। यस्तै आदिवासी जनजाति समुदायका साँस्कृतिक प्रस्तुतिले पनि निरन्तरता पाइरहेको छ। शनिबार चर्चित गायक गायिका प्रीति आलेमगर र रमेशराज भट्टराईले माहोल तताएका थिए।








