काठमाडाैँ । हास्य कलाकार तथा निर्देशक शिवहरी पौड्याललाई मातृशोक परेको छ । १९७७ फागुनमा जन्मिएकी शिवहरीकी आमाको हेटौंडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो । शिवहरीले सय वर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै फेसबुकमार्फत् माफी मागेका छन् । उनले लेखेका छन्, ‘दुखद् खबर लेख्न वाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ मलाई थाहा छैन आमा । सय वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा बास होस् मेरी प्यारी आमा । आमा, फेरि पनि मलाई माफ गर्नुहोला ।’ शिवहरीकी आमाको सोमवार हेटौंडामा अन्त्येष्टि गरिएको छ । शिवहरि पौड्यालले निर्देशन गरेको पहिलो चलचित्र ‘लक्का जवान’ हो । यो चलचित्रको रिलिज कोरोनाका कारण भएको लकडाउनका कारण हुन पाएन । आमालाई आफूले निर्देशन गरेको पहिलो चलचित्र देखाउने शिवको सपना पुरा हुन सकेन ।








