गैंडाकोट। गैंडाकोट नगरपालिका स्वास्थ्य शाखाले महिला स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सोमबार गैंडाकोट नगरपालिका वडा नं. ८ स्थित विजय आधारभूत विद्यालय परिसरमा निःशुल्क स्तन परीक्षण, पाठेघर मुखको क्यान्सर जाँच तथा आङ खस्ने सम्बन्धी समस्याको स्क्रिनिङ शिविर सम्पन्न भएको हो। गैंडाकोट न.पा. वडा नं. ८ का वडाध्यक्ष प्रेम सापकोटाले शिविरको मुख्य उद्देश्य महिलाहरूमा लामो समयदेखि देखिने स्तन, पाठेघर क्यान्सर एवं आङ खस्ने सम्बन्धी समस्याहरूको पहिचान गरी समयमै उपचार सुरु गर्न सहयोग पुर्याउनु रहेको बताउनुभयो।
उहाँले महिलाहरूमा पाइने यस्ता रोगहरू बेलैमा पत्ता नलगाउँदा ज्यान नै गुम्न सक्ने भएकाले यस्ता शिविर अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। त्यसैगरी, गैंडाकोट नगरपालिका स्वास्थ्य शाखा सिनियर अनमी सिता शर्माले शिविरमा प्रयोग भएका अत्याधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मीहरूको टोलीले गुणस्तरीय जाँच सेवा प्रदान गरेको जानकारी दिनुभयो।
उहाँले शिविरमा परीक्षणका क्रममा समस्या देखिएका महिलाहरूलाई तत्काल उपचारका लागि सिफारिस गरिनुका साथै आवश्यक परामर्श समेत दिइएको बताउनुभयो।








