चितवन । गएको असार १ गते कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा भएको चोरीका घटनाका पांँचजना आरोपी पक्राउ परेका छन , असार १ गते राति ८ः२० बजेको समयमा लुटपाट भएको घटनामा प्रहरीले पाँच जनालाई सार्वजनिक गरेको हो । बीमा रकम पाउने लोभमा आफ्नै पसल आफैंबाट लुटपाट भएको नाटक गर्ने पसल सञ्चालक विनोद सुनारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । आज चितवन प्रहरीले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
पक्राउ पर्नेमा लुटपाट भएको भनिएको विनोद सुनचाँदी पसलका सञ्चालक कालिका–६ बस्ने ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका मेनेजर कालिका–७ बस्ने २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका–७ बस्ने ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका–४ बस्ने १८ वर्षीय पवन कुमार पासवान र चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६ बस्ने ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन् ।
लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । अन्य दुई जनालाई मंगलवार पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान गर्न काठमाडौँबाट सिआईबीको टिम समेत चितवन आएको थियो । पसल सञ्चालक विनोद सुनार स्वयम्ले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भावेष रिमालले बताए ।
‘बीमा दाबी गर्नका लागि पसल सञ्चालक आफैले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार पसल लुटपाटको नाटक गर्न पसल सञ्चालकले पूर्ण बहादुर विश्वकर्मालाई जिम्मा दिएका थिए । त्यसवापत पूर्णबहादुरले ५० हजार रुपैयाँ लिइसकेका थिए । धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाई पसलबाट दुई करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको पसल सञ्चालकले दाबी गरेका थिए । चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ ।
घटना भएको दुई दिनपछि चोरी भएको भनिएको सुनचाँदीका गहनाहरु पसल सञ्चालकले नै अञ्जनाको घरमा गई लुकाउन लगाएको पाइएको प्रहरी उपरीक्षक रिमालले बताए । पछि सबै सुनचांँदी विनोद सुनार आफैले लगेको प्रहरीको भनाई छ । अञ्जना पसल सञ्चालकको मिल्ने साथी भएको पाइएको छ । पक्राउ परेका माथि थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति प्राप्त गरेको छ ।








