पोखरा । कोरोनाभाइरसको संक्रमणबाट कास्कीको पोखरा महानगरपालिकामा थप तीन जनाको मृत्यु भएको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । मृत्यु हुनेमा तीनै जना पुरुष रहेका छन् । पोखरा महानगरपालिका-१ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ७ गते साँझ ७:४५ बजे चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ। अस्पतालमा उपचारको क्रममा कार्तिक ३ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । न्यूमोनियाको समस्या रहेकी ती पुरुष असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । यस्तै, गण्डकी मेडिकल कलेज, पोखरामा पनि कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय पुरुष कार्तिक ८ गते बिहान ९:३० बजे मृत्यु भएको हो । न्युमोनियासहितको समस्या रहेको ती पुरुषमा कार्तिक ६ गते कोरोना पुष्टि भएको थियो । लगत्तै ७ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै, पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचाररत पुरुषको कार्तिक ८ गते दिउँसो ४:२५ बजे मृत्यु भएको हो । न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको ती पुरुषमा कार्तिक ७ गते कोरोना पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पताल भर्ना गरेर आईसियुमा उपचार भैरहेको थियो ।








