चितवन । चितवनको भरतपुर–१७ लगौटामा रहेको धनेश्वर शिव मन्दिरमा पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको छ । विशेषगरी श्रावण महिना र सोमबार यहाँ भक्तजनहरुको उल्लेख्य उपस्थिति देखिएको मन्दिरका विशिष्ठ सदस्य डिल्लीराज काफ्लेले बताउनुभयो ।
विसं २०६८ सालमा गोरखा मनकामनाबाट बलेको दीप ल्याएर मन्दिरमा प्रतिस्थापन गरेसँगै विसं २०७५ मा मुक्तिनाथबाट कोइला ल्याएर हवन कुण्ड निर्माण गरिएकोमा हवन कुण्ड र मन्दिरको दीप निरन्तर प्रज्ज्वलित भइरहेको काफ्लेले बताउनुभयो । चितवन मनकामना माई मन्दिर एवम् धनेश्वर शिव मन्दिरको नामले परिचित मन्दिरमा पुगेर दर्शन गरेमा मुक्तिनाथ र मनकामना माईको मन्दिर पुगेर पाउन फल पाइने काफ्लेको भनाइ छ ।
भौगोलिकरुपमा पुग्नका लागि कठिन भएको मुक्तिनाथ र मनकामना मन्दिर जान नपाएका दर्शनार्थीहरुलाई लक्षित गरेर धरतपुरमा शिव मन्दिर र मनकामना माई मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो ।
मन्दिरको भौतिक पूर्वाधार निर्माण र विस्तारका लागि विसं २०७५ मा वाचन प्रविण दिनबन्धु पोखरेलको वाचकत्वमा श्रीमद्भागवत् महापुराण लगाएर दुई करोड रुपैयाँ संकलन गरिएको उहाँले बताउनुभयो । उक्त रकमबाट मन्दिर परिसरमा गणेश मन्दिर, १०८ गौधारा, १०८ शिवलिंग एवम् हवन कुण्ड निर्माण गरिएको उहाँले स्विट नेपाललाई जानकारी दिनुभयो ।








