एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । गएराति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ८५ रनको मध्यम लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा बेन स्टोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सन्जु सामसनले ४८ रन जोड्दा रोबिन उथप्पाले ३० रन बनाए । कप्तान स्टिभ स्मिथ ३१ रनमा अविजित रहदा जोस बट्लर २२ रनमा अविजित रहे । पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १/१ विकेट लिए । यस अघि ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले । शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे । यस्तै कप्तान केएल राहुलले ४६ रन जोड्दा निकोलस पुरनले २२ रन बनाए ।राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चरले २/२ विकेट लिए । पन्जाबलाई हराएसँगै राजस्थान तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । र, राजस्थानले प्ले अफ सम्भावना कायम राखेको छ । पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ । पन्जाब तालिकाको चौंथो स्थानमा यथावत रहेको छ । राजस्थानले पन्जाबलाई हराएसँगै प्ले अफ होड समेत रोमान्चक मोडमा पुगेको छ । प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ । यसअघि मुम्बई इन्डियन्सले प्ले अफमा स्थान बनाईसकेको छ ।








