काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले जितका साथ प्रतियोगिता सुरुवात गरेको छ । शनिवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ७५ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए । जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका मिलन्थाले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । तेस्रो विकेटका लागि हर्ष ठाकरसँग मिलेर १ सय १६ रनको नट आउट साझेदारी गरे । ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए । त्यसअघि जनकपुरले पहिलो ओभरमा नै ओपनर आसिफ शेखलाई पहिलो विकेट रुपमा गुमाएकोमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा गुमायो ।
दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिशीको बलमा बोल्ड आउट भएका थिए । पहिलो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोलि आउट भएका थिए् । आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा बोल्ड आउट गराएका हुन् । विराटनगरका लागि क्रिस सोल र प्रतिस जिशीले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो । विराटनगरका ओपनर गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए ।
गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी हर्ष ठाकरको बलमा अनिल शाहबाट समातिए । अकिब इल्यासले १८ बलमा १५ रन जोडे । एक समय ७६ मा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको विराटनगरले रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका लागि ललितनारायण राजवंशीले एनपिएलको आफ्नो पहिलो बलमा सहित ३ विकेट लिए । किशोर महतो र हर्ष ठाकरले समान २ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले समान १ विकेट लिए ।








