बैतडीमा बुधबारराति बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । घटनामा परी अन्य २५ जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि गुडेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको प्रहरीको भनाई छ ।








