बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण लिने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको छ । मंगलबार दिउँसो गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ । आइतबार बेलुकादेखि बेपत्ता भएकी शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति झाडीमा बोरामा खाँदेको अवस्थामा फेला पारेको थियो । बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहले आरोप स्विकारिसकेको प्रहरीले जनाएको छ । आक्रोशित बनेका स्थानीयले मंगलबार बिहान साहको घरमा समेत आगो लगाइदिएका थिए ।








