चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा पहिलो पटक ‘सीएमसी कार्डियोलोजी कन्फ्रेन्स’ आयोजना हुने भएको छ । अस्पतालको मुटुरोग विभागको आयोजनामा पुस १९ गते शनिबार उक्त कन्फ्रेन्स सञ्चालन हुन लागेको हो ।
कन्फ्रेन्समा नेपालभरका ३५० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहने मुटुरोग विशेषज्ञ प्रा. डा. श्यामराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा मुटुरोग विशेषज्ञ, मुटुरोग विषयमा अध्ययनरत विद्यार्थी, फिजिसियन, मुटुरोग उपचारमा संलग्न नर्स, प्राविधिक तथा अन्य स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
कन्फ्रेन्समा मुटुरोगको उपचार, प्रविधि तथा अनुसन्धानसम्बन्धी कुल ३३ वटा वैज्ञानिक पेपर प्रस्तुत गरिनेछ । प्रस्तुत गरिएका पेपरमाथि विस्तृत छलफल र अनुभव आदान–प्रदान गरिने कार्यक्रम रहेको छ । कार्यक्रम कोअर्डिनेटर अमृत काफ्लेका अनुसार मुटुरोग उपचारका आधुनिक पद्धति, उपचारमा प्रयोग भइरहेका नवीन प्रविधि तथा पछिल्ला अनुसन्धानका निष्कर्षबारे गहिरो छलफल हुनेछ ।
चितवन मेडिकल कलेजको पाँचौं तलामा रहेको अडिटोरियम हलमा बिहान ८ बजेदेखि सुरु हुने कन्फ्रेन्स साँझ ५ः३० बजेसम्म सञ्चालन हुनेछ । कन्फ्रेन्सको पहिलो एक घण्टा उद्घाटन सत्रका लागि छुट्याइएको छ भने त्यसपछि विभिन्न सत्रहरूमा पेपर प्रस्तुती र छलफल कार्यक्रम सञ्चालन गरिनेछ ।
यस कन्फ्रेन्सले मुटुरोग उपचार तथा अनुसन्धानको क्षेत्रमा ज्ञान अभिवृद्धि गर्नुका साथै स्वास्थ्यकर्मीहरूबीच अनुभव साटासाटको महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।








