चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गर्दै आएको ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ । केही समयदेखि विभिन्न कारणले स्थगित रहेको यो कार्यक्रम फेरि सक्रिय बनाइएको हो । विशेषगरी युवापुस्ता लक्षित गतिविधि, जेनजी सम्बन्धी कार्यक्रम तथा निर्वाचनजस्ता कारणले रोकिएको उक्त कार्यक्रम अब नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ । यस कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीलाई एक स्थानबाट अर्को स्थानमा भ्रमण गराइन्छ ।
यसरी उनीहरूलाई फरक भूगोल र पर्यटकीय गन्तव्यसँग परिचित गराउने, साथै मनोरञ्जन र अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । प्रहरी कर्मचारीले भ्रमणका क्रममा त्यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गर्नुका साथै विभिन्न रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने गरेका छन् । कार्यक्रमले प्रहरीबीच आपसी भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्नुका साथै उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । नियमित कामको दबाबबाट केही समय विश्राम दिलाउने, तनाव व्यवस्थापन गर्न सहयोग पुर्याउने र नयाँ ऊर्जा थप्ने उद्देश्यले पनि यो कार्यक्रम उपयोगी देखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार्यक्रममा डुङ्गा सयर, र्याफ्टिङ, हाइकिङलगायतका पर्यटकीय गतिविधि समावेश गरिएका छन् ।
साथै सहभागीहरूलाई चितवन राष्ट्रिय निकुञ्जभित्र हुने पर्यटकीय क्रियाकलापमा समेत संलग्न गराइन्छ । यसले उनीहरूलाई प्रकृतिसँग नजिक बनाउनुका साथै पर्यटनको महत्वबारे प्रत्यक्ष अनुभूति गराउने गरेको छ । यसैगरी, कार्यक्रमअन्तर्गत छिमेकी जिल्लामा समेत भ्रमणको व्यवस्था मिलाइन्छ । त्यहाँका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाबारे जानकारी लिने, विभिन्न गतिविधिमा सहभागी हुने र नयाँ ज्ञान आर्जन गर्ने अवसर प्रदान गरिन्छ । आलोपालो प्रणालीमा सञ्चालन हुने यस कार्यक्रमबाट प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
करीब एक वर्षअघि सुरु गरिएको ‘घुमौँ चितवन’ कार्यक्रमले प्रहरी कर्मचारीलाई पुनर्ताजगी प्रदान गर्नुका साथै सरुवा भएर नयाँ ठाउँमा जाँदा भूगोल बुझ्न पनि सहयोग पुगेको प्रहरी उपरीक्षक पुरीको भनाइ छ । हाल जिल्ला प्रहरी कार्यालय मातहत चितवनमा करिब नौ सय प्रहरी कार्यरत छन्, जसले विभिन्न युनिटमार्फत सेवा प्रवाह गरिरहेका छन् ।








