चितवन । मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष असर यहाँको पर्यटन क्षेत्रमा स्पष्ट देखिन थालेको छ। हवाई यात्रा महँगो र असुरक्षित बन्दै जाँदा नेपाल घुम्न आउने योजनामा रहेका धेरै विदेशी पर्यटकले आफ्नो यात्रा रद्द गरेका छन्। विशेषगरी सौराहा क्षेत्रमा भारत, चीन र अष्ट्रेलिया बाहेकका देशबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको व्यवसायीहरू बताउँछन्। विगतका वर्षहरूमा यही समयमा सौराहाका होटलहरू करिब ८० प्रतिशतसम्म भरिने गर्थे। तर यस वर्ष भने त्यो संख्या घटेर करिब २० प्रतिशतमा सीमित भएको छ। निर्वाचनका कारण करिब १५ दिन प्रभावित बनेको पर्यटन क्षेत्र त्यसपछि मध्यपूर्वको द्वन्द्वका कारण थप संकटमा परेको हो।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेका अनुसार फेब्रुअरी, मार्च र अप्रिल सौराहाको मुख्य पर्यटकीय सिजन मानिन्छ। तर यस वर्ष द्वन्द्वका कारण पर्यटकहरूले बुकिङ रद्द गरेका छन्। “द्वन्द्व भएका देश मात्र होइन, अन्य देशबाट पनि पर्यटक आउन हिच्किचाएका छन्,” उहाँले भन्नुभयो। आकाशीय मार्ग असुरक्षित भएपछि यात्रा गर्ने मनोबल घटेको उहाँको भनाइ छ। संघका उपाध्यक्ष गुणराज थपलियाका अनुसार विदेशी मात्र होइन, नेपाली पर्यटकसमेत घुम्न आउन कम गरेका छन्। महँगी, अन्तर्राष्ट्रिय तनाव र विदेशमा रहेका आफन्तप्रतिको चिन्ताले मानिसहरूमा घुम्ने उत्साह घटेको देखिन्छ।
उता, हवाई भाडा अत्यधिक बढ्दा पनि पर्यटक आगमनमा गिरावट आएको छ। पर्यटन व्यवसायी सुमन घिमिरेका अनुसार आफ्नो होटलमा भएको करिब ५० प्रतिशत बुकिङ रद्द भएको छ। “यदि द्वन्द्व चाँडै रोकियो भने स्थिति केही सुधार हुन सक्छ,” उहाँले आशा व्यक्त गर्नुभयो। युरोप, बेलायत, अमेरिका लगायतका देशबाट आउने पर्यटकहरूले यात्रा स्थगित गरेको उहाँले बताउनुभयो। सौराहामा हाल १४८ होटल सञ्चालनमा छन्, जसमा करिब ७२०० पर्यटक बस्न सक्ने क्षमता छ। यहाँ प्रत्यक्ष रूपमा ६४०० र अप्रत्यक्ष रूपमा १२ हजारभन्दा बढी मानिस रोजगारीमा आश्रित छन्।
चितवन राष्ट्रिय निकुञ्जका एक सिंगे गैँडा, पाटेबाघ, घडियाल गोही लगायतका दुर्लभ वन्यजन्तु तथा थारु संस्कृति यहाँका मुख्य आकर्षण हुन्। तर हालको अन्तर्राष्ट्रिय द्वन्द्वले पर्यटन क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ, जसले समग्र अर्थतन्त्रमा समेत असर पार्ने संकेत देखिएको छ।








