चितवन । कालिका नगरपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट आजदेखि नियमित सेवा प्रवाह सुरु गरेको छ। नगरपालिकाले रामनवमीको अवसर पारेर शुक्रबार पूजा गरी कार्यालयका सामग्री नयाँ भवनमा सार्न थालेको थियो। नगरप्रमुख बिनोद रेग्मीका अनुसार आजबाट सम्पूर्ण प्रशासनिक काम नयाँ भवनबाटै सञ्चालनमा आएको हो। यो भवन निर्माण कार्य सुरु भएको झण्डै ६ वर्षपछि सम्पन्न भएको हो। रविना कन्स्ट्रक्सनले वि.सं. २०७६ फागुन १५ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सर्तमा ठेक्का लिएको थियो। तर निर्धारित समयमै काम नसकिएपछि चारपटक म्याद थप गरिएको थियो, जसको अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पुर्याइएको थियो। त्यसपछि भने नगरपालिकाले थप म्याद नदिई निर्माण कम्पनीलाई जरिवाना गर्ने निर्णय गरेको थियो। कार्यपालिका बैठक र नगर परिषदबाट पारित निर्णयअनुसार कम्पनीसँग १ करोड १६ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ।
नगरप्रमुख रेग्मीका अनुसार करिब ११ करोड ५६ लाख रुपैयाँको लागतमा आधुनिक सुविधासहितको भवन निर्माण गरिएको हो। वि.सं. २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले स्थापना भएको झण्डै १० वर्षपछि आफ्नै भवनबाट सेवा दिन थालेको हो। नयाँ भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टाछुट्टै सचिवालय र कार्यकक्षहरू व्यवस्था गरिएको छ। साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिक विकास लगायत सबै शाखाहरू यही भवनबाट सञ्चालन हुनेछन्।
साबिकका जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँ विकास समितिहरूलाई समायोजन गरी गठन गरिएको यस नगरपालिकामा ५२ हजारभन्दा बढी जनसंख्या बसोबास गर्छ। यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्री लगायत विविध जातजाति र समुदायको बसोबास रहेको छ। नगरपालिकाले आफ्नै भवनबाट सेवा सुरु गरेसँगै सेवाग्राहीलाई सहजता भएको र कर्मचारीहरूको कार्यसम्पादन पनि प्रभावकारी बनेको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो।








