चितवन । जिल्ला कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीहरूको प्रमुख रोजाइको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यहाँ अवस्थित क्यान्सर अस्पताल, भरतपुर अस्पताल तथा दुई ठूला मेडिकल कलेजहरूमा सहज र प्रभावकारी उपचार सेवा उपलब्ध हुने भएकाले उपचार आवश्यक परेका कैदीबन्दीहरूलाई चितवन ल्याउने गरिएको हो।
पहिले क्यान्सरजस्ता गम्भीर रोगका बिरामीहरूका लागि मात्र चितवन प्राथमिक रोजाइमा पर्ने गरे पनि अहिले विभिन्न अन्य रोगका बिरामीहरू पनि यहाँ उपचारका लागि पठाइने क्रम बढेको छ। कारागार प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार केही दिनअघि मात्र केन्द्रीय कारागार नुवाकोटबाट तीन जना बिरामीलाई उपचारका लागि चितवन ल्याइएको छ। देशभरिका कारागारहरूबाट बिरामी कैदीबन्दीहरू उपचारका लागि पहिलो प्राथमिकतामा काठमाडौं र त्यसपछि चितवन रोज्ने गरिएको छ।
चितवन देशको मध्यभागमा अवस्थित भएकाले यातायात सुविधा सहज छ, जसका कारण बिरामीका आफन्तहरूलाई पनि भेटघाट तथा सहयोग गर्न सजिलो हुने गरेको छ। हाल कारागारमा ११८ जना बिरामी कैदीबन्दी रहेका छन्। तीमध्ये ५४ जना उच्च रक्तचाप, ३० जना मधुमेह, १२ जना मानसिक रोग, ५ जना हेपाटाइटिस ‘बी’का बिरामी रहेका छन्। त्यस्तै मुटुरोग, क्षयरोग, क्यान्सर, एचआईभी/एड्स तथा छारे रोगका तीन–तीन जना र थाइराइडका दुई जना बिरामी रहेका छन्।
नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरूको व्यवस्थापनमा भने चुनौती देखिएको छ। चालु आर्थिक वर्षमा औषधि उपचारका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन गरिए पनि पर्याप्त नभएकाले जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरको स्वास्थ्य शाखा तथा औषधि व्यवसायीहरूसँग सहकार्य गरेर औषधि उपलब्ध गराइँदै आएको छ।
हाल कारागारमा ४१ जना महिला सहित कुल ६७९ जना कैदीबन्दी रहेका छन्, जसमा एक जना आश्रित बालक पनि छन्। दुई जना बिरामी हाल अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन्। ५०५ जनाको क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। साथै, ‘जेन जी आन्दोलन’का क्रममा भागेका ११० जना कैदीबन्दी अझै फर्कन बाँकी रहेको जनाइएको छ।








