चितवन। भरतपुर यातायात कार्यालयको मुख्य गेट अगाडि अनधिकृत रूपमा “यहाँ लाइसेन्सका लागि मेडिकल गरिन्छ” भन्ने सूचना राखेर विचौलियाहरू सक्रिय भएको पाइएको छ। कार्यालय परिसर बाहिर खुलेआम यस्ता गतिविधि भइरहँदा सेवाग्राहीहरू भ्रमित हुने र अनावश्यक रूपमा रकम खर्च गर्न बाध्य हुने अवस्था देखिएको छ।
स्थानीयका अनुसार केही व्यक्तिहरूले आफूलाई आधिकारिक जस्तो देखाउँदै लाइसेन्स प्रक्रियाका नाममा सेवाग्राहीसँग रकम असुल्ने गरेको गुनासो बढ्दो छ। यसले सरकारी सेवा प्रणालीप्रति सर्वसाधारणको विश्वाससमेत कमजोर बनाइरहेको छ।
यातायातजस्तो संवेदनशील क्षेत्रमा यस्ता अनियमितता देखिनु सम्बन्धित निकायको कमजोर अनुगमनको परिणाम भएको सरोकारवालाहरू बताउँछन्। विशेषगरी कार्यालय वरपर प्रहरी र प्रशासनको नियमित निगरानी अभाव हुँदा विचौलियाहरूले सहजै ठाउँ पाएको स्थानीयको भनाइ छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय चितवन र नेपाल प्रहरी ले तत्काल ध्यान दिई अनधिकृत गतिविधि नियन्त्रण गर्नुपर्ने माग गरिएको छ। साथै, सेवाग्राहीलाई आधिकारिक प्रक्रिया र स्थानबारे स्पष्ट जानकारी दिने व्यवस्था गर्न पनि आवश्यक देखिएको छ।








