चितवन । खानेपानी महसुल नतिर्ने ग्राहकविरुद्ध कडाइ सुरु गरिएको छ। भरतपुर खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि बक्यौता नबुझाउने ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेसँगै कार्यान्वयन अघि बढाइएको हो। यस अभियानअन्तर्गत महसुल नतिर्ने ग्राहकको पानी आपूर्ति अवरुद्ध गर्न थालिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख सञ्जय बरालका अनुसार बोर्डअन्तर्गत रहेका करिब ४४ हजार ५०० ग्राहकमध्ये ठूलो संख्यामा ग्राहकले महसुल तिर्न बाँकी राखेका छन्। हालसम्म झन्डै तीन करोड ७० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो। बोर्डले भरतपुर महानगरपालिका–१ देखि १६ र वडा नम्बर २२ सम्म पानी वितरण गर्दै आएको छ।
बक्यौता असुलीलाई प्रभावकारी बनाउन विशेष टोली गठन गरिएको छ। उक्त टोलीले हालसम्म नौ जना ग्राहकको धाराको लाइन काटिसकेको छ। विशेषगरी लामो समयदेखि महसुल नतिर्ने करिब ३०० ग्राहकबाट मात्रै २० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी छ। तीमध्ये धेरैले पाँच वर्षदेखि रकम बुझाएका छैनन्। यस्तै, तीन महिनाभन्दा बढी समयदेखि बक्यौता राख्ने १३ हजार २५ ग्राहकबाट करिब तीन करोड ५० लाख रुपैयाँ उठाउन बाँकी रहेको कार्यालयले जनाएको छ।
ग्राहकलाई सचेत गराउन एसएमएस पठाउने, पत्राचार गर्ने जस्ता प्रयास पनि तीव्र पारिएको छ। यी उपायपछि बक्यौता असुलीमा केही सुधार देखिएको बताइएको छ। बोर्डले मासिक दुई करोड ७६ लाख लिटर पानी वितरण गर्दै आएको छ। यद्यपि, चोरी नियन्त्रणमा आए पनि सडक मर्मत, ढल निकास र नाला निर्माणका कारण हुने चुहावट भने अझै चुनौतीका रूपमा रहेको कार्यालयले जनाएको छ।








