चितवन । थाङ्खोला सामुदायिक वन क्षेत्रमा बिहान ९ बजेसम्म अवैध रूपमा गिटी–बालुवा उत्खनन भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। स्थानीयका अनुसार नदी तथा वन क्षेत्रबाट दैनिक रूपमा नदीजन्य पदार्थ निकासी भइरहे पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको आरोप छ।
एकातर्फ बाढी नियन्त्रणका लागि बाँध निर्माण कार्य सञ्चालन भइरहेको देखिए पनि अर्कोतर्फ सोही क्षेत्रबाट निरन्तर रूपमा गिटी–बालुवा उत्खनन भइरहनुले संरक्षण प्रयासमाथि नै प्रश्न उठाएको स्थानीयको भनाइ छ। अनियन्त्रित उत्खननले वातावरणीय सन्तुलन बिग्रिनुका साथै नदी कटान, वन विनाश तथा आसपासका बस्तीमा जोखिम बढ्न सक्ने उनीहरूको चिन्ता छ।
स्थानीयवासीले प्रशासन, डिभिजन वन कार्यालय तथा सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गर्दै अवैध उत्खनन रोक्न कडा अनुगमन, आवश्यक कारबाही र दीर्घकालीन संरक्षण योजना लागू गर्न माग गरेका छन्।








