चितपन । गुरुकुल सिए कलेजले चितवनको भरतपुरमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने भएको छ। कलेजले बिहीबार पत्रकार सम्मेलनमार्फत सिए फाउन्डेशन लेभलका लागि आगामी जेठ ५ गते छात्रवृत्ति परीक्षा आयोजना गर्न लागिएको जानकारी दिएको हो।
कलेजका अध्यक्ष विशाल भट्राईका अनुसार देशभर सञ्चालनमा रहेका पाँच शाखामध्ये कुल नौ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। तीमध्ये चितवन शाखाबाट एक जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ। साथै, ७५ प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति पनि एक–एक जना विद्यार्थीलाई उपलब्ध गराइनेछ। छात्रवृत्ति परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई अतिरिक्त १० प्रतिशत शुल्क छुटको व्यवस्था गरिएको अध्यक्ष भट्राईले जानकारी दिनुभयो।
यस छात्रवृत्ति परीक्षामा विज्ञान तथा व्यवस्थापन संकाय अध्ययन गरेका विद्यार्थीहरू सहभागी हुन सक्नेछन्। आईक्यानबाट मान्यता प्राप्त सिएको अध्ययन अवधि पाँच वर्षको हुने कलेजले जनाएको छ। काठमाडौँ, चितवन, विराटनगर, मोरङ र रुपन्देहीमा शाखा विस्तार गरेको गुरुकुल सिए कलेज नेपालका उत्कृष्ट १० सिए कलेजभित्र पर्न सफल भएको दाबी गरिएको छ। साथै, देशभर सिए अध्ययन गर्ने विद्यार्थीमध्ये करिब ६० प्रतिशत विद्यार्थी गुरुकुलमै अध्ययनरत रहेको कलेजको भनाइ छ।
कलेजका प्रबन्ध निर्देशक परसमा पौडेलका अनुसार चितवन शाखाले गत वर्ष ८७.५ प्रतिशत नतिजा हासिल गरेको थियो। सिएसँगै कलेजले एसिसिएका कक्षासमेत सञ्चालन गर्दै आएको छ। सिएको पाँच वर्षे कोर्ष पूरा गर्न करिब पाँचदेखि सात लाख रुपैयाँसम्म खर्च लाग्ने जनाइएको छ भने एसिसिएका अध्ययनका लागि छदेखि आठ लाख रुपैयाँसम्म खर्च हुने कलेजले जनाएको छ।
कलेजले हरेक वर्ष जेठ महिनामा नयाँ भर्ना खुलाउने गरेको छ।








