भरतपुर । भरतपुरमा निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको बढ्दो मूल्य नियन्त्रण तथा त्यसबाट उत्पन्न समस्या समाधानको माग गर्दै विभिन्न सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । निर्माण व्यवसायी संघ चितवनको नेतृत्वमा व्यवसायीहरूले पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय र भरतपुर महानगरपालिकाको परिसरमा धर्ना दिएका हुन् ।
व्यवसायीहरूको भनाइ अनुसार निर्माण सामग्री र इन्धनको मूल्य निरन्तर बढिरहेकाले धेरै विकास आयोजना प्रभावित भएका छन् । लागत अत्यधिक बढ्दा तोकिएको समयमा काम सम्पन्न गर्न कठिन भएको तथा निर्माण क्षेत्र नै संकटमा पर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ ।
विरोध कार्यक्रममा सहभागी व्यवसायीहरूले कालोपट्टी बाँधेर शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका थिए ।
उनीहरूले “मूल्यवृद्धि नियन्त्रण गर”, “निर्माण व्यवसायीको संरक्षण गर” जस्ता नारा समेत लगाएका थिए । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपानेले मागप्रति सम्बन्धित निकाय गम्भीर नभए निर्माण कार्य रोक्दै थप कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
धर्ना कार्यक्रममा संघका पूर्व केन्द्रीय सदस्य होमकुमार शर्मा, बागमती प्रदेश उपाध्यक्ष उमानन्द कंडेल, जिल्ला उपाध्यक्षद्वय माधवप्रसाद पोखरेल र छवि गौतम, महासचिव पुस्कर अधिकारी, सचिव शिव ढकाल सहित जिल्लाका अन्य निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो । यस अघि उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएका थिए ।








