चितवन । चितवनमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा एच५एन१) संक्रमण पुष्टि भएपछि ३८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक पोल्ट्री फार्ममा संक्रमण देखिएपछि नियन्त्रणका लागि कुखुरा, अण्डा तथा दाना नष्ट गरिएको हो।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जेठ २३ गते संक्रमण पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्ने अभियान सुरु गरिएको थियो। लगातार तीन दिनसम्म सञ्चालन गरिएको अभियानपछि मंगलबार फार्म पूर्ण रूपमा सरसफाइ गरी सिल गरिएको छ।
कार्यालयका अनुसार संक्रमित फार्मका ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ। साथै १ हजार ४०५ पेटी अण्डा र करिब १२ टन दाना पनि नष्ट गरिएको छ। संक्रमणको पुष्टि गर्न फार्मबाट संकलित नमुना पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो। प्रयोगशालाको परीक्षणमा एभियन इन्फ्लुएन्जा एच५एन१ संक्रमण पुष्टि भएपछि नियन्त्रणका उपाय लागू गरिएको हो।
डा. न्यौपानेले अन्य सम्भावित जोखिम क्षेत्रबाट पनि नमुना संकलन गरी परीक्षणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। संक्रमण थप फैलिन नदिन सम्बन्धित निकायले निगरानी बढाएको छ।
यसअघि पनि चितवनमा बर्ड फ्लू देखिएको थियो। चैत १२ गते भरतपुर महानगरपालिका–४ स्थित एक पोल्ट्री फार्ममा संक्रमण पुष्टि भएपछि १७ हजार ८७० लेयर्स कुखुरा तथा नजिकैको अर्को फार्मका ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो।
नेपालको कुखुरापालन क्षेत्रमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ, जसको आधाभन्दा बढी हिस्सा चितवनमा केन्द्रित छ। पशु सेवा कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा चितवनमा करिब एक करोड आठ लाख कुखुरा रहेका छन्। जिल्लामा साना–ठूला हजारौं पोल्ट्री फार्म र सयभन्दा बढी ह्याचरी सञ्चालनमा छन्।








