चितवन । चितवन राइनोजले नेपाल प्रिमियर लिग (NPL) को आगामी सिजनलाई लक्षित गर्दै सात प्रमुख खेलाडीलाई रिटेन गरेको घोषणा गरेको छ। फ्रेन्चाइजले टोलीमा निरन्तरता, स्थायित्व तथा दीर्घकालीन सफलतालाई प्राथमिकतामा राख्दै बलियो आधार कायम गर्ने उद्देश्यले यी खेलाडीहरूलाई निरन्तरता दिएको जनाएको छ।
रिटेन गरिएका खेलाडीहरूमा कुशल मल्ल, देव खनाल, कमल सिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रवित कुमार तथा दीपक बोहोरा रहेका छन्। यी खेलाडीहरूले अघिल्लो सिजनमा टोलीको प्रदर्शन र विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
चितवन राइनोजका अनुसार अनुभव, क्षमता र युवा प्रतिभाको उत्कृष्ट संयोजन रहेको यो समूह आगामी सिजनको टोली निर्माणको मुख्य आधार बन्नेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको अनुभव बोकेका कुशल मल्लको नेतृत्व क्षमता र खेल जिताउने सामर्थ्यले टोलीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
त्यसैगरी, देव खनाल र अर्जुन साउद नेपाली क्रिकेटका उदीयमान युवा प्रतिभाका रूपमा स्थापित हुँदै गएका खेलाडी हुन्। उनीहरूको निरन्तर प्रगति र प्रदर्शनले टोलीलाई भविष्यमा थप बलियो बनाउने अपेक्षा गरिएको छ। अलराउन्डर कमल सिंह ऐरीको अनुभव र बहुआयामिक क्षमताले पनि टोलीलाई सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
रिजन ढकाल, रवित कुमार र दीपक बोहोराले समेत आफ्नो मेहनत, समर्पण र निरन्तर प्रदर्शनमार्फत टोली व्यवस्थापनको विश्वास जित्न सफल भएका छन्। उनीहरूको योगदानलाई मूल्यांकन गर्दै फ्रेन्चाइजले आगामी सिजनका लागि पनि निरन्तरता दिएको हो।
चितवन राइनोज व्यवस्थापनले बलियो कोर समूहलाई कायम राख्नु आगामी सिजनको सफलताका लागि महत्वपूर्ण कदम भएको उल्लेख गरेको छ। साथै, खेलाडी ड्राफ्ट तथा अन्य भर्ना प्रक्रियामार्फत थप सन्तुलित, प्रतिस्पर्धात्मक र प्रभावशाली टोली निर्माण गरिने जनाएको छ।
फ्रेन्चाइजले आफ्ना समर्थकहरूको निरन्तर साथ, विश्वास र उत्साहप्रति आभार व्यक्त गर्दै आगामी सिजनमा चितवनको प्रतिनिधित्व गर्वका साथ गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।








