चितवन । चितवनको पत्रकारिता तथा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका अग्रज पत्रकार एवं साहित्यकार धर्मराज अर्यालको आठौँ स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। ‘स्वतन्त्र, जिम्मेवार र सशक्त पत्रकारिता, समृद्ध साहित्य र समुन्नत समाजका लागि’ भन्ने मूल नारासहित चितवन पोष्ट दैनिकले शनिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले धर्मराज अर्यालको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले मोफसल पत्रकारिताको विकास र विस्तारमा धर्मराज अर्यालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले अर्याललाई मोफसल पत्रकारिताका एक प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रण गर्दै राष्ट्रिय समाचार समिति र चितवन पोष्टमार्फत चितवनको सामाजिक, आर्थिक तथा विकासका मुद्दालाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो।
साहित्यकार तथा लेखक डिआर पोखरेलले धर्मराज अर्यालको साहित्य र पत्रकारिता दुवै क्षेत्रमा रहेको योगदान स्मरणीय र अनुकरणीय रहेको बताउनुभयो। उहाँले धर्मराज अर्यालका जीवन, संघर्ष र योगदानलाई भावी पुस्तासम्म पुर्याउन स्मृतिग्रन्थ प्रकाशन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्यालले धर्मराज अर्याललाई इमान्दार, निष्ठावान् तथा आफ्नो सिद्धान्तप्रति अडिग व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो। उहाँले सही ठानेको विषयमा दृढतापूर्वक उभिने र त्यसका लागि जुनसुकै मूल्य चुकाउन तयार रहने स्वभावका कारण धर्मराज अर्याल सबैका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो।
पत्रकार रामकुमार एलनले चितवन पोष्टलाई पत्रकारिताको पाठशालासरह रहेको उल्लेख गर्दै धर्मराज अर्यालबाट आफूहरूले पत्रकारिताका धेरै महत्वपूर्ण पाठ सिक्न पाएको स्मरण गर्नुभयो।
कार्यक्रममा साहित्यकार धनराज गिरी, पत्रकार विरेन्द्रमणि पौडेल, शशिधर गैरे, अनिल ढकाल, प्रकाश ज्ञवाली, साहित्यकार उदय अधिकारी, भानु उपाध्यायलगायतले धर्मराज अर्यालको व्यक्तित्व, कृतित्व तथा चितवनको पत्रकारिता र साहित्य क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानबारे चर्चा गरेका थिए।
सहभागीहरूले निष्पक्ष, जिम्मेवार र समाजप्रति समर्पित पत्रकारिताको अभ्यासमा धर्मराज अर्यालको योगदान अनुकरणीय रहेको उल्लेख गर्दै उहाँको जीवन र कार्य आजका पत्रकार तथा साहित्यकर्मीहरूका लागि प्रेरणाको स्रोत बनेको बताएका थिए।








