चितवन । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी, मकवानपुरअन्तर्गत नं. १७ गण हेडक्वार्टर चितवनले सञ्चालन गरेको १० दिने गोताखोर पुनर्ताजगी तालिम सम्पन्न भएको छ। तालिमको समापन अवसरमा चितवनको ठिमुरा तथा तनहुँको देवघाटस्थित त्रिशूली नदी क्षेत्रमा विपद् पूर्वतयारी तथा उद्धारसम्बन्धी अभ्यास प्रदर्शन गरिएको थियो।
समापन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले यस्ता तालिमले विपद्का समयमा नागरिकलाई शीघ्र तथा प्रभावकारी उद्धार सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै तालिम, उपकरण तथा उद्धार सामग्री व्यवस्थापनमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री अधिकारीले विपद् घटना घट्नासाथ सबैभन्दा पहिले सशस्त्र प्रहरी परिचालन हुने भएकाले उद्धारकर्मीको सुरक्षाका लागि अत्याधुनिक उपकरण र आवश्यक सामग्रीको व्यवस्था अनिवार्य रहेको बताउनुभयो।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गोताखोरका लागि उच्चस्तरीय सुरक्षा सामग्री तथा ‘लाइफ ज्याकेट’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहले उद्धारकर्मीको सुरक्षा र मनोबल अभिवृद्धिका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदीजन्य विपद् व्यवस्थापनमा दक्ष गोताखोरको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै विगतमा नेपालले विदेशबाट गोताखोर झिकाउनुपर्ने अवस्था रहेको स्मरण गर्नुभयो। हाल सशस्त्र प्रहरीले दक्ष जनशक्ति उत्पादन गरी उक्त आवश्यकता अन्त्य गरेको उहाँको भनाइ थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनीका बाहिनीपति किरण बस्नेतले बागमती प्रदेश विपद्को उच्च जोखिममा रहेको बताउँदै जुरे पहिरो, मेलम्ची बाढी, सिमलताल बस दुर्घटना, झ्याप्ले खोला तथा रोशीखोला बाढीजस्ता घटनाको उदाहरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हाल देशभर सशस्त्र प्रहरीका १३४ जना दक्ष गोताखोर कार्यरत छन्।
बागमती प्रदेशमा एक विपद् व्यवस्थापन तालिम शिक्षालय, चार डेडिकेटेड विपद् व्यवस्थापन बेस तथा १० वटा अस्थायी मनसुन प्रतिकार्य टोली सञ्चालनमा रहेका छन्। चितवन र सिन्धुलीमा २२ जना गोताखोरसहितको उद्धार टोली २४सै घण्टा तयारी अवस्थामा रहेको जानकारी पनि उहाँले दिनुभयो।
चालु आर्थिक वर्षमा बागमती प्रदेशमा भएका ४३५ विपद्जन्य घटनामा सशस्त्र प्रहरी परिचालन भई ५१९ जनाको सकुशल उद्धार, एक हजार ९०८ घाइतेको उद्धार तथा ३०५ जनाको शव व्यवस्थापन गरी कुल दुई हजार ७३२ जनालाई सेवा प्रदान गरिएको बाहिनीपति बस्नेतले जानकारी दिनुभयो। तीमध्ये ३१ वटा घटनामा दक्ष गोताखोर परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी बल नं. १७ गण हेडक्वार्टर चितवनका प्रमुख प्रहरी उपरीक्षक धनबहादुर बानियाँले तालिम पौडीपोखरी, नारायणी तथा त्रिशूली नदीमा सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले तालिमले गोताखोरको दक्षता र आत्मविश्वास अभिवृद्धि गरेको बताउँदै सशस्त्र प्रहरीले पहिलोपटक पुनर्ताजगी तालिम सञ्चालन गरेको जानकारी दिनुभयो। यसअघि सिन्धुलीको खुर्कोटमा १० जनालाई यस्तै तालिम प्रदान गरिएको थियो भने चितवनमा पनि १० जना सहभागीलाई पुनर्ताजगी तालिम दिइएको हो।








