चितवन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजना गरिने भएको छ भने बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।
बन्दसत्रका लागि आवश्यक स्थल उपलब्ध गराउने विषयमा केही समयदेखि रास्वपा र चितवन उद्योग संघबीच छलफल भइरहेको थियो। पार्टीले प्रदर्शनी केन्द्रमा बन्दसत्र गर्ने निर्णय गरिसकेको भए पनि केही प्राविधिक तथा व्यवस्थापकीय विषयमा सहमति जुट्न बाँकी थियो। ती सबै विषय टुंगिएपछि संघले औपचारिक रूपमा प्रदर्शनी केन्द्र प्रयोग गर्न स्वीकृति दिएको छ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेका अनुसार दुवै पक्षबीच आवश्यक समझदारी बनेपछि बन्दसत्रका लागि स्थल उपलब्ध गराउने निर्णय गरिएको हो। यससँगै महाधिवेशनका सबै प्रमुख कार्यक्रमका लागि आवश्यक पूर्वाधार व्यवस्थापनको कामले गति लिएको छ।
उद्घाटन सत्रलाई मौसमको प्रतिकूल प्रभावबाट सुरक्षित बनाउन विशेष प्रकारको ‘जर्मन ह्याङ्गर’ निर्माण भइरहेको छ। यो अस्थायी भए पनि अत्यन्त बलियो संरचना मानिन्छ। एल्युमिनियम फ्रेममा आधारित यो ह्याङ्गरमा ‘टेन्साइल फेब्रिक’को छाना प्रयोग गरिन्छ, जसले घाम, वर्षा, हुरीबतास तथा अन्य मौसमी चुनौतीबाट सुरक्षा प्रदान गर्छ।
काठमाडौंस्थित मिडिया स्पेस सोलुसनले उक्त संरचना निर्माण गरिरहेको छ। कम्पनीका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार उद्घाटनस्थलमा तीनवटा मुख्य खण्डसहितको विशाल ह्याङ्गर तयार पारिनेछ। मुख्य भाग २० मिटर चौडा र ७५ मिटर लामो हुनेछ भने त्यसको दायाँ–बायाँ थप दुई खण्ड रहनेछन्, जसको आकार २० मिटर चौडा र ३० मिटर लामो हुनेछ।
संरचनाको माथिल्लो भागको उचाइ करिब २४ फिट तथा छेउतर्फको उचाइ १६ फिट रहनेछ। उद्घाटन समारोहका लागि पाँच हजार कुर्सी राख्न सकिने व्यवस्था गरिनेछ। साथै, खुला स्थानसमेत उपयोग गरेर थप सहभागीलाई समेट्न सकिने गरी संरचना डिजाइन गरिएको छ।
भट्टराईका अनुसार ह्याङ्गरले करिब ३० हजार वर्गफिट क्षेत्र ढाक्नेछ र भित्र १० देखि १२ हजारसम्म मानिस अट्न सक्ने अनुमान गरिएको छ। पोखरा लिटरेचर फेस्टिभल लगायत विभिन्न राष्ट्रिय तथा व्यावसायिक कार्यक्रमहरूमा यस्ता संरचना सफलतापूर्वक प्रयोग भइसकेका छन्।
‘जर्मन ह्याङ्गर’ प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, उत्पादन सार्वजनिकरण, व्यापारिक मेला तथा विवाह समारोहजस्ता ठूला कार्यक्रमका लागि विश्वभर प्रयोग गरिने आधुनिक अस्थायी संरचना हो। यसको विशेषता भनेको छिटो जडान गर्न सकिनु, बलियो हुनु तथा विभिन्न मौसमीय अवस्थासँग सामना गर्न सक्नु हो।
चितवनमा हाल अत्यधिक गर्मी रहेको र मनसुन सुरु भइसकेको अवस्थामा खुला चौरमा ठूलो कार्यक्रम सञ्चालन गर्दा समस्या आउन सक्ने भएकाले आयोजकले यस्तो संरचना निर्माण गर्ने निर्णय गरेको जनाएको छ। यसले सहभागीलाई सहज वातावरण उपलब्ध गराउनुका साथै कार्यक्रमको व्यवस्थापनलाई पनि प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी आइतबार उद्घाटन हुनेछ। महाधिवेशन तीन दिनसम्म चल्नेछ र मंगलबार सम्पन्न हुने कार्यक्रम तय गरिएको छ। पार्टीको भावी संगठनात्मक दिशा, नेतृत्व चयन तथा नीतिगत विषयहरूमा महत्त्वपूर्ण निर्णय हुने अपेक्षासहित महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।








