चितवन । गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । टिम नारायणी र बागमतीबीच खेल सुरु भएको हो ।
भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा आजदेखि प्रतियोगिता शुरु भएको हो । खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा भइरहेको छ ।
प्रतियोगितामा सहभागिता जनाउने तीन टोली छन् । खेलमा टिम बाग्मती, टिम नारायणी र टिम राप्तीको सहभागिता रहेको छ ।
वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै नारायणीको कप्तान सुबास खकुरेल रहेका छन् । यसअघि पूर्वराष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकोमा पारसलाई कोरोना पुष्टि भएपछि सुबासले कप्तानी सम्हालेका हुन् । राप्तीको कप्तानमा विनोद भण्डारी छन् ।








