चितवन । चितवनको नारायणगढ बजार शनिबार पूर्ण रूपमा सञ्चालनमा आएको छ। केही समयदेखि शनिबारलाई साप्ताहिक बजार बिदा बनाउने विषयमा विभिन्न तहमा छलफल र निर्णय सार्वजनिक भए पनि त्यसको प्रभाव बजारमा खासै देखिएको छैन। अधिकांश पसल तथा व्यापारिक प्रतिष्ठानहरू नियमित रूपमा खुलेका छन् भने दैनिक किनमेल पनि सामान्य अवस्थामै सञ्चालन भएको देखिएको छ।
विशेषगरी चितवनका फेन्सी तथा कपडा व्यवसायीहरूले भने पुरानै व्यवस्था अनुसार सोमबारलाई नै साप्ताहिक बजार बिदाका रूपमा कायम राख्ने अडान दोहोर्याएका छन्। चितवन फेन्सी तथा कपडा व्यवसायी सङ्घका अनुसार व्यवसाय सञ्चालनको सहजता, ग्राहकको चाप व्यवस्थापन तथा व्यवसायीहरूको साझा हितलाई मध्यनजर गर्दै सोमबार नै उपयुक्त साप्ताहिक बिदा भएको निष्कर्षमा सङ्घ पुगेको हो।
यता, चितवन उद्योग वाणिज्य सङ्घले शनिबारलाई साप्ताहिक बजार बिदा दिने निर्णय सार्वजनिक गरे पनि नारायणगढ बजारमा त्यसको प्रभाव प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको देखिएन। शनिबार फेन्सी तथा कपडा पसलहरू मात्र होइन, अन्य विभिन्न वस्तुगत व्यवसायसँग सम्बन्धित अधिकांश व्यापारिक प्रतिष्ठानहरू पनि नियमित रूपमा सञ्चालनमा रहे।
फेन्सी तथा कपडा व्यवसायीहरूले आफ्नै पेशागत सङ्घको निर्णयप्रति एकबद्धता जनाउँदै सोमबार बजार बन्द गर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएका छन्। व्यवसायीहरूका अनुसार सबै सदस्यबीच समान धारणा कायम गर्दै व्यवसायीहरूको हित, बजार व्यवस्थापन र उपभोक्ताको सुविधालाई सन्तुलनमा राखेर निर्णय कार्यान्वयन गरिनेछ।
साप्ताहिक बजार बिदाको दिनलाई लिएर व्यवसायीहरूबीच फरक–फरक धारणा रहे पनि शनिबार नारायणगढ बजार सामान्य रूपमा सञ्चालन भएपछि तत्कालका लागि पुरानै अभ्यास कायम रहने संकेत देखिएको स्थानीय व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार बजार सञ्चालनसम्बन्धी कुनै नयाँ व्यवस्था लागू गर्नुअघि सबै सरोकारवालाबीच व्यापक छलफल, सहमति र स्पष्ट कार्ययोजना आवश्यक छ। अन्यथा फरक–फरक निर्णयले व्यवसायी, उपभोक्ता तथा समग्र बजार व्यवस्थापनमा अन्योल सिर्जना हुने उनीहरूको तर्क छ। हालका लागि भने नारायणगढ बजारमा अधिकांश व्यवसायी सोमबारलाई नै साप्ताहिक बिदा कायम राख्ने पक्षमा देखिएका छन्।








