चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति जंगली हात्तीको आक्रमण हुँदा एकै परिवारका आमा र छोराको ज्यान गएको छ। हात्तीलाई बस्तीबाट धपाउने प्रयासका क्रममा पीडितको कच्ची घरमा आगलागी हुँदा घटनाले थप दुःखद रूप लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब ११ बजे जंगली हात्ती पूर्ण बोटेको घरमा प्रवेश गरेको थियो। परिवारका सदस्यहरू घरभित्र सुतिरहेको अवस्थामा हात्तीले अचानक आक्रमण गरेपछि घरमा भागदौड र त्रासको अवस्था सिर्जना भएको थियो। घटनामा पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हात्तीले घरमा क्षति पुर्याउन थालेपछि घरधनी पूर्ण बोटेले हात्तीलाई भगाउने उद्देश्यले आगो बाल्ने प्रयास गरेका थिए। तर आगो बाल्ने क्रममा अनियन्त्रित रूपमा सल्किएर कच्ची घरमा आगलागी भएको थियो। आगलागीका कारण घरमा थप भौतिक क्षति पुगेको भए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाको सक्रिय सहयोगमा प्रहरीले घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो। त्यसपछि घटनास्थल सुरक्षित बनाएर कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्नुका साथै आवश्यक प्रारम्भिक अनुसन्धान सम्पन्न गरिसकेको जनाएको छ। मृतकको शव सम्बन्धित प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। घटनाबारे थप अनुसन्धान चितवन राष्ट्रिय निकुञ्जको टोलीसँग समन्वय गरेर भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बेला–बेलामा जंगली हात्ती बस्तीमा प्रवेश गर्ने घटना दोहोरिँदै आएका छन्। यसले स्थानीय बासिन्दाको जिउधन र सम्पत्तिमा जोखिम बढाएको छ। पछिल्लो घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तु नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी तथा दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता पुनः उजागर भएको छ।
प्रहरीले निकुञ्ज नजिकका बासिन्दालाई रातिको समयमा विशेष सावधानी अपनाउन, जंगली जनावर देखिएमा आफैं जोखिमपूर्ण प्रयास नगरी तत्काल प्रहरी तथा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।
तस्बिर : दिपक दवाडी








