चितवन । चितवन प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा भरतपुर महानगरपालिका–८, सल्यानीटोलबाट दुई जनालाई पक्राउ गरेको छ। प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी चौकी गोन्द्राङबाट खटिएको टोलीले शनिबार विशेष निगरानी तथा खानतलासी अभियान सञ्चालन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पक्राउ पर्नेमा भरतपुर–८ निवासी ३१ वर्षीय प्रकाश मोक्तान र भरतपुर–१२ निवासी २७ वर्षीय गोविन्द गैरे रहेका छन्। प्रहरीका अनुसार प्रकाश मोक्तानले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसक्रममा गरिएको खोजतलासका क्रममा दुवै जनालाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो।
खानतलासीका क्रममा प्रहरीले खैरो हेरोइनजस्तो देखिने ४.९२ ग्राम पदार्थ, ट्रामाडोलका २० वटा ट्याबलेट, नगद ६० हजार १०० रुपैयाँ तथा एक थान दाउ बरामद गरेको जनाएको छ। बरामद गरिएका सबै सामग्री प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रभूसन यादवका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको पदार्थको प्रयोगशालामा परीक्षण गरिने तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको उनले बताए।
चितवन प्रहरीले लागूऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर निगरानी र विशेष अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। लागूऔषधको कारोबार, ओसारपसार वा सेवनसम्बन्धी कुनै पनि सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।








