चितवन । जिल्लामा आर्थिक वर्ष २०८२/०८३ (गत एक वर्ष) मा भएका सवारी दुर्घटनामा १०५ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा जिल्लाभर ५४५ वटा सवारी दुर्घटना भएका छन्, जसमा ९९९ जना घाइते भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना, मृत्यु र घाइते हुनेको संख्या सबैमा कमी आएको कार्यालयले जनाएको छ।
तथ्याङ्कअनुसार पूर्व–पश्चिम लोकमार्गमा सबैभन्दा धेरै १३७ दुर्घटना भएका छन्। यी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने २१४ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डमा ४८ दुर्घटना हुँदा १० जनाको ज्यान गएको र १८० जना घाइते भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत २२ दुर्घटनामा ६ जनाको मृत्यु तथा ६२ जना घाइते भएका छन्। त्यस्तै, सहरी सडकमा ५५ दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन्। भित्री सडकमा भएका २८३ दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका छन् र ४७० जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार गत वर्ष ९७ जना गम्भीर र ९०२ जना सामान्य घाइते भएका थिए। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा भने १,०५० दुर्घटनामा १२० जनाको मृत्यु भएको थियो भने १,८७७ जना घाइते भएका थिए। तीमध्ये १७२ जना गम्भीर घाइते थिए। यस आधारमा हेर्दा पछिल्लो वर्ष दुर्घटनाको संख्या उल्लेख्य रूपमा घटेको देखिन्छ।
दुर्घटनाका प्रमुख कारणमध्ये तीव्र गति सबैभन्दा अगाडि रहेको छ। कार्यालयको तथ्याङ्कअनुसार कुल दुर्घटनामध्ये ३८ प्रतिशत तीव्र गतिका कारण भएका छन् भने २२ प्रतिशत चालकको लापरवाहीका कारण भएका हुन्। त्यसैगरी सडक प्रयोगकर्ताको असावधानीका कारण १७ प्रतिशत दुर्घटना भएको पाइएको छ।
गत वर्ष तीव्र गतिका कारण मात्रै २०९ दुर्घटना भएका छन्। चालकको लापरवाहीले १२१, यात्रुका कारण ९७, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा ३५, ओभरटेक गर्ने क्रममा २८, सडकको अवस्थाका कारण ३५, यान्त्रिक समस्याका कारण ८, मौसमका कारण ६, पशुचौपायाका कारण ३ तथा अन्य कारणले ३ दुर्घटना भएका छन्।
दुर्घटनामा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन संलग्न रहेका छन्। दुईपाङ्ग्रे दुर्घटनामा ५२ जनाको मृत्यु भएको छ। पैदलयात्रीलाई ठक्कर दिँदा १८ जनाको ज्यान गएको छ। त्यसैगरी जीप तथा कार दुर्घटनाबाट ८, टेम्पो दुर्घटनाबाट ८, शारीरिक शक्तिबाट चल्ने सवारीबाट ७, बस दुर्घटनाबाट ५, ट्रक तथा ट्याङ्करबाट ३, माइक्रोबसबाट १ तथा पहिचान नखुलेका सवारीसाधनबाट ३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ।
समयका आधारमा हेर्दा साँझ ६ बजेदेखि राति १२ बजेसम्म सबैभन्दा बढी २१४ दुर्घटना भएका छन्। दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म १५६, बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म १२४ तथा राति १२ बजेदेखि बिहान ६ बजेसम्म ५१ दुर्घटना भएका छन्।
यसैबीच, ट्राफिक प्रहरीले एक वर्षमा १०,०८० सवारी चालकलाई कारबाही गरेको छ। कारबाहीमा परेकामध्ये १,३७९ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने र १०० जना लागुऔषध सेवन गर्ने चालक रहेका छन्। अन्य चालक ट्राफिक नियम उल्लङ्घनका कारण कारबाहीमा परेका हुन्। कारबाहीबाट कुल रु १ करोड ७५ लाख ७७ हजार ५०३ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।








