काठमाडौं । डा. गोविन्द केसीले धनगढीबाट सत्याग्रह (अनसन) सुरु गरेका छन् । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेर बिहीबार दिउँसोबाट डा केसीले सत्याग्रह सुरु गरेका हुन् । केसी धनगढीमा अनसन बस्न बुधबार साँझ धनगढी पुगेका थिए । धनगढी पुगेर उनी सोही धर्मशालामै बास बसेका थिए । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर उनले सत्याग्रह सुरु गरेका छन् ।
डा केसीले सरकारलाई ५ बुँदे माग राखेका थिए । ती माग पूरा गर्न डा केसीले मंगलबार (साउन ५ गते) सम्मको समयसीमा दिएका थिए । तर, सरकारले पूर्ण रूपमा बेवास्ता गरेको भन्दै उनले आजबाट सत्याग्रह सुरु गरेका हुन् । सरकारले विगतका सहमति कार्यान्वयन नगरेको, चिकित्सा शिक्षा आयोग र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कानुन विपरीत नियुक्ति गरिएको तथा ती निर्णय सच्याउनुपर्ने माग राख्दै उनी पुनः सत्याग्रहमा बसेका हुन्।








