चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा विभिन्न सेवा तथा शुल्कबापत एक करोड नौ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल, रोयल्टीलगायतका सेवाबाट उक्त राजस्व सङ्कलन गरेको हो।
जिल्ला हुलाक कार्यालयका प्रमुख शालिकराम बस्यालका अनुसार समीक्षा अवधिमा सङ्कलित कुल राजस्वमध्ये सबैभन्दा बढी हिस्सा हुलाक टिकट बिक्रीबाट प्राप्त भएको छ। हुलाक टिकट बिक्रीबाट रु ५८ लाख ७२ हजार राजस्व सङ्कलन भएको छ। त्यस्तै, काउन्टर अटोमेसन, पार्सल, रोयल्टीलगायत अन्य सेवा शुल्कबाट रु ५० लाख ४४ हजार राजस्व प्राप्त भएको उहाँले जानकारी दिनुभयो।
कार्यालयले गत आर्थिक वर्षमा वित्तीयतर्फ ९१.११ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ। कार्यालयका लागि विनियोजित रु छ करोड ३३ लाख ६१ हजार वार्षिक बजेटमध्ये रु पाँच करोड ७७ लाख ३२ हजार खर्च भएको प्रमुख बस्यालले बताउनुभयो। उपलब्ध बजेटलाई सेवा सञ्चालन तथा कार्यालय व्यवस्थापनमा प्रभावकारी रूपमा परिचालन गरिएको कार्यालयले जनाएको छ।
नेपाल सरकारको निर्णयअनुसार गत वर्षदेखि चितवनमा ‘एक स्थानीय तह, एक हुलाक’को नयाँ सङ्गठनात्मक संरचना कार्यान्वयनमा ल्याइएको छ। सो संरचनाअन्तर्गत जिल्लाका छवटै स्थानीय तहमा पालिका हुलाक कार्यालय सञ्चालनमा छन्। राप्ती, खैरहनी, रत्ननगर, कालिका र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा पालिका हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ।
यसैगरी, भरतपुर महानगरपालिकाभित्र चनौली, जगतपुर र नारायणगढमा तीनवटा हुलाक काउन्टर सञ्चालनमा रहेका छन्। जिल्लाका विभिन्न स्थानमा थप १२ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत समेत नागरिकलाई हुलाकसम्बन्धी सेवा प्रदान भइरहेको कार्यालयले जनाएको छ। नयाँ संरचनाले स्थानीय तहसम्म हुलाक सेवा विस्तार गर्न सहयोग पुगेको कार्यालयको भनाइ छ।
जिल्ला हुलाक कार्यालयमा स्वीकृत ५३ दरबन्दीमध्ये गत आर्थिक वर्षमा स्थायी २६ र करारमा २३ गरी ४९ कर्मचारी कार्यरत थिए। स्वीकृत दरबन्दीमध्ये चार पद अझै रिक्त रहेको कार्यालयले जनाएको छ। यसबाहेक जिल्लाका विभिन्न क्षेत्रमा २२ जना अतिरिक्त हुलाक जनशक्तिसमेत कार्यरत रहेका छन्।
सञ्चार क्षेत्रतर्फ पनि कार्यालयले विभिन्न काम गर्दै आएको छ। गत आर्थिक वर्षमा जिल्लाका ३५ वटा सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनबापत रु ६० लाख २४ हजार भुक्तानी गरिएको कार्यालय प्रमुख बस्यालले जानकारी दिनुभयो।
त्यसैगरी, १७ वटा एफएम रेडियोको नवीकरण, २२ जना पत्रकारलाई परिचयपत्र वितरण तथा १९ वटा अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गरिएको कार्यालयले जनाएको छ। हुलाक सेवासँगै सञ्चार क्षेत्रको व्यवस्थापन र नियमनसम्बन्धी जिम्मेवारीसमेत कार्यालयले निर्वाह गर्दै आएको छ।








