चितवन। सामाजिक उत्तरदायित्वअन्तर्गत इन्टरयाक्ट क्लब अफ स्मल हेभन मोडल स्कुलका विद्यार्थीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ हजार ३१० रुपैयाँ सहयोग गरेका छन्।
क्लबकी अध्यक्ष अर्पिता खरेलको नेतृत्वमा विद्यार्थीले विद्यालय परिसरमा रकम सङ्कलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्का कारण प्रभावित भएका नागरिकको सहयोगका लागि विद्यार्थी स्वयं सक्रिय हुँदै सहयोग रकम सङ्कलन गरेका हुन्।
राहत सङ्कलन अभियानमा रोटरी क्लब अफ भरतपुर तथा विद्यालयको समेत समन्वय रहेको थियो। विद्यार्थीलाई सामाजिक सेवासँग जोड्दै विपद्का समयमा पीडित समुदायप्रति सहयोग र सहानुभूतिको भावना विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ।
विद्यालयका प्राचार्य विमल क्षेत्रीले विद्यार्थीलाई सानै उमेरदेखि सामाजिक कार्यमा सहभागी गराउँदा उनीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास हुनुका साथै व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने बताउनुभयो।
उहाँका अनुसार विद्यालय तहबाटै सामाजिक सेवाका गतिविधिमा विद्यार्थीको सहभागिता बढाउन सके भविष्यमा जिम्मेवार, संवेदनशील र समाजप्रति उत्तरदायी नागरिक निर्माण गर्न महत्वपूर्ण योगदान पुग्नेछ।
यसैबीच, विपद्बाट प्रभावित समुदायका बालबालिकालाई सहयोग पुर्याउने उद्देश्यले क्लबले ५० जोरभन्दा बढी कपडा समेत सङ्कलन गरेको छ। सङ्कलित कपडा प्रभावित क्षेत्रका बालबालिकालाई उपलब्ध गराउने तयारी गरिएको क्लबकी अध्यक्ष खरेलले जानकारी दिनुभयो।
अध्यक्ष खरेलका अनुसार विद्यार्थीको सानो प्रयासले विपद्मा परेका परिवार तथा बालबालिकालाई राहत पुग्नुका साथै अन्य व्यक्तिलाई समेत सामाजिक सेवामा सहभागी हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ।
विद्यार्थीको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई सामाजिक सेवा, मानवीय संवेदना र जिम्मेवारीसँग समेत जोडिनुपर्ने सन्देश दिएको छ।








