चितवन । डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा बाढीले बगाएर ल्याएका गोलिया काठ तथा दाउराको निगरानी र जफत गर्ने अभियान सुरु गरेको छ। कार्यालयले नदी किनारबाट जोखिम मोलेर वा अवैध रूपमा काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार रसुवा क्षेत्रमा आएको बाढीका कारण पहाडी क्षेत्रका सल्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालका ढलेका र बगेका काठ–दाउरा नारायणी नदी किनारमा ठूलो मात्रामा थुप्रिएका छन्।
स्थानीयवासीले नदी किनारबाट जथाभावी काठ उठाउन थालेपछि कार्यालयले निगरानी तथा नियन्त्रणको काम थालेको हो। बाढीपछि नदी किनारमा शव भेटिएका बेला समेत केही मानिसले जोखिम मोलेर काठ संकलन गर्न नदीमा प्रवेश गरेका थिए। त्यसबेला कार्यालयको प्राथमिकता शव व्यवस्थापन रहेकाले काठ नियन्त्रणमा तत्काल कदम चाल्न नसकिएको आचार्यले बताउनुभयो।
उहाँका अनुसार नारायणीको देवघाटदेखि पुलचोक, भरतपुर महानगरपालिका–३ आसपास तथा नारायणी, ज्ञानेश्वर र सेतीदेवी सामुदायिक वन क्षेत्रका नदी किनारमा ठूलो मात्रामा काठ थुप्रिएको छ।
नदीको तीव्र बहाव भएका जोखिमयुक्त स्थानमा प्रवेश गरी काठ निकाल्ने, तान्ने, काट्ने, ओसारपसार गर्ने, बिक्री–वितरण गर्ने वा आफ्नो स्वामित्वमा लिने कार्य गैरकानुनी हुने कार्यालयले जनाएको छ। अवैध रूपमा संकलन गरिएका काठ जफत गरी वन ऐन, २०७६, वन नियमावली, २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने आचार्यले चेतावनी दिनुभयो।
बाढीले ल्याएका काठ–दाउराको पहिचान, लगत, नापजाँच र व्यवस्थापन वन कार्यालयबाटै गरिने भएकाले नदी किनारमा काठ भेटिएमा नजिकको वन कार्यालय, वन कर्मचारी वा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहलाई जानकारी गराउन कार्यालयले अनुरोध गरेको छ।








