चितवन । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा कालिका नगरपालिकाले राष्ट्रिय शोक दिवस तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
कालिका नगरपालिका तथा स्थानीय विपद् व्यवस्थापन समितिको संयुक्त आयोजनामा सोमबार साँझ नगरपालिका कार्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले प्राकृतिक विपद्का कारण भएको ठूलो मानवीय क्षतिले आफूहरू अत्यन्तै मर्माहत भएको बताए। उनले विपद्मा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे।
नगर प्रमुख रेग्मीले प्राकृतिक विपद् कुनै पनि समय र जुनसुकै स्वरूपमा आउन सक्ने भएकाले यसको जोखिम न्यूनीकरण तथा क्षति कम गर्न सबै पक्ष पूर्वतयारी अवस्थामा रहनुपर्नेमा जोड दिए। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह, नागरिक समाज, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
उनले विपद्का समयमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक संयन्त्रलाई थप प्रभावकारी बनाउँदै स्थानीयस्तरमै विपद् प्रतिकार्य क्षमता विकास गर्नुपर्ने बताए। साथै, सम्भावित जोखिम पहिचान, जनचेतना अभिवृद्धि तथा पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा कालिका नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले मौनधारण तथा दीप प्रज्वलन गर्दै बाढी तथा विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए।
कार्यक्रममार्फत सहभागीहरूले विपद्का पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सामूहिक रूपमा सचेत र जिम्मेवार बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








